नरैनापुरमा चालु आवभन्दा चार करोड कम बजेट

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्षभन्दा चार करोड कम बजेट आएको छ ।
नरैनापुरको आइतबार सम्पन्न १३औं गाउँसभामा नरैनापुर-५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले आव ०८०/ ८१ को लागि ४८ करोड ६२ लाख दुई हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । जबकी चालु आर्थिक वर्षको बजेट ५२ करोड ८० लाख ८० हजार रुपैयाँ रहेको थियो ।

आगामी आवको बजेट चालु आवको भन्दा ४ करोड १८ लाख ७७ हजार १२७ रुपैयाँले कम बजेट आएको छ । जबकी आव ०७८/७९ मा ४९ करोड एक लाख र ०७७/७८ का लागि ५५ करोड २८ लाख बजेट थियो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले वार्षिक नीति तथा कार्यक्रम खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्ने गरी सामुदायिक विद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ । अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागि १२ कक्षासम्म क्रमशः निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्द्रहरुलाई प्रविधि मैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।

यसअघि गाउँसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले विकासमा राजनीति गर्न नहुनेमा जोड दिएका थिए । उनले जिल्लाको विकास र उन्नतिको लागि आफू पार्टीभन्दा माथि उठेर राजनीति गरिरहेको जिकिर गरेका थिए ।

यस्तै,पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी नमुनाले गाउँपालिकासँग सहकार्य गरेर नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिरहेको बताइन् । उनले आगामी दिनमा पनि नरैनापुरको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । गाउँसभामा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, नेपाली कांग्रेसका नेता रामचन्द्र मौर्य र रामानन्द शर्मालाई दोसल्ला ओेढाएर सम्मान गएको थियो ।