असार १५ : मानो रोपेर मुरी उब्जाउने दिन

प्रकाश विश्वकर्मा
कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । वि.सं. २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । नेपालले २०८० सालको असार १५ लाई २०औ राष्ट्रिय धान दिवसका रुपमा जलवायु अनुकुलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाएको छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।

खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हँुदै आएको छ । सरकारले धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको आमकिसान माझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाइ छ । नेपालको कुल जमिनमध्ये ३५ प्रतिशतमा धान खेती गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सबैभन्दा बढी छ तर दुर्भाग्य हामी औसतमा लगभक ३० अर्बको धान वा चामल प्रति वर्ष आयात गरिरहेका छौं ।

नार्क र त्यहाँका धान विशेषज्ञका अनुसार नेपालमा धान खेतीका प्रमुख समस्याहरु निम्न छन् ः
– विशेषज्ञको अभाव,
– तराईको भूराजनीति
– धानको मूल्य
– भण्डारण र प्रशोधनमा समस्या
– आकासेपानीमा भरपर्नुपर्ने बाध्यता
– बिउ, मल र अन्य आपूर्तिको अभाव
– युवाको विदेश पलायन
– जग्गाको खण्डीकरण
– परम्परागत खेतीको अभ्यास
– अनुसन्धानको कमी
– अनुसन्धान र विकासमा तादम्यता नहुनु
– जलवायु परिवर्तन आदि

विश्वको करिब ७ अर्ब जनसंख्यामध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अर्ब बढी छ । विश्वभरीको खेतीयोग्य जमिनमध्ये करिब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्बन्धी अध्ययनका अनुसार संसारभरमा गत वर्ष करिव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुनेगर्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा भोकमरी र कुपोषणबाट ग्रसित देखिएका १ अर्ब जनतामध्ये ६० प्रतिशत भन्दा वढी जनता एशिया र प्रशान्त क्षेत्रीय देशमा रहेका छन् । अझ विश्वको ५० प्रतिशत भन्दा वढी कुपोषित बालबालिकाहरु दक्षिण एशियाको ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । त्यसैले पनि धान खेतीका साथ अनेकन सवालहरु जोडिएका छन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने नेपाल विश्वमै पहिलो देश हो । यस महिनालाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा लिने गरिन्छ । यो भनाइ, भनाइमा मात्र सिमित नरहोस् । यसलाई एउटा चाडपर्वका रुपमा मात्रै नहेरेर सबैले सके जति जमिनमा केही न केही रोपौं । जमिन बाँझो नराखौं ।