पौडी क्रेजी बालबालिका (फोटो फिचरसहित)

नेपालगन्जको कारकाँदोस्थित होटल सिद्धार्थ भ्यूको स्वीमिंग पुलमा प्रशिक्षक दीपक परियारको प्रशिक्षणमा पौडी खेल्दै बालबालिका। फोटो शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । नेपालगन्ज
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगन्जका संस्कार न्यौपानेले कान्छो खेलाडीको रुपमा सहभागिता जनाउँदा निकै चर्चा पाएका थिए। ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलिसकेका धुरन्धर खेलाडीसँग ५० मिटर फ्रिस्टायल पौडीमा सात वर्षीय संस्कारले जित्नुभन्दा पनि प्रतिस्पर्धा गर्नु नै ठूलो कुरा थियो। पदक नजिते पनि उनले आफ्नो खेल सुधार गरे। नवौं राष्ट्रिय खेलकुदबाट उनी उत्साही बने। नियमित पौडी अभ्यास गरी रहे।
नेपालगन्जको आदर्श सेकेन्डरी स्कुलमा कक्षा चारमा अध्ययनरत संस्कार जिल्ला, प्रदेश छनोट पार गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका थिए। उनी राष्ट्रिय खेलकुदमा मात्रै सीमित हुन चाहँदैनन्। नेपाल पौडी संघले चीनको हाङझाउ सहरमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्न गत जेठ २२–२३ मा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना गरेको ११औं एनएसए कप पौडी प्रतियोगितामा पनि संस्कारले फ्रिस्टाइल र बेस्टस्टोकमा सहभागिता जनाएका थिए। देशभरबाट आएका एक सय ७० पुरुष र ९० महिला गरी दुई सय ६० खेलाडीमध्येबाट संस्कार एसियाली खेलकुदका लागि छनोट हुन सकेनन्।

घरेलु स्पर्धामा भने संस्कार अब्बल छन्। ओलम्पिक दिवसका अवसरमा नेपालगन्जमा आयोजित पौडी प्रतियोगितामा २५ मिटर फ्रिस्टाइलमा उनी पहिलो भएका थिए। नेपालगन्जको कारकाँदोस्थित होटल सिद्धार्थ भ्युको पौैडी पोखरीमा दैनिक अभ्यासमा भेटिने संस्कार पौडी क्रेजी नेपालगन्जका बालबालिकाका लागि ‘आइकन’ बनेका छन्। उनलाई पछ्याउने बालबालिकाको ठूलै जमात छ। संस्कारको पौडीदेखि प्रभावित हुनेले उनलाई ‘डल्फिन’को संज्ञा दिने गरेका छन्।
नेपालगन्जको ४२ डिग्री सेल्सियस तापक्रममा धेरैले पौडी खेल्नु स्वभाविक हो। ‘गर्मी छल्न स्वीमिङ गर्ने भन्दा सिक्ने बालबालिका बढी छन्। साँझ बिहान सिक्न आउँछन्’, होटल सिद्धार्थका पौडी प्रशिक्षक दीपक परियार भन्छन्, ‘पाँच सात वर्षको बच्चाले पनि १५ दिनमा त फ्रिस्टायल पौडीमा २५ मिटरको दूरी पूरा गरेका छन्। बच्चाले छिटोछिटो पौडी सिकिरहेका छन्।’ प्रशिक्षक परियारको मायालु पाराले सिकाउने शैलीले पनि बालबालिकालाई छिटो पौडी सिक्न मद्दत मिलेको अभिभावकहरू बताउँछन्।
बाँकेको शिखा स्कुललगायतका केही विद्यालयले पौडी पोखरी बनाउनेदेखि संस्थागत रुपमा पौडी सिकाउने गरेका छन्। विद्यार्थीलाई नियमित पौडी खेलाउनेमा नेपालगन्जको स्प्रिङ डेल स्कुलको नाम अग्रपंक्तिमा आउँछ। राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुनेमा यही विद्यालयका विद्यार्थीको बर्चश्व रहँदै आएको छ। स्प्रिङ डेलले नर्सरीदेखि १० कक्षाकै विद्यार्थीलाई पौडी पोखरीमा उतार्ने गरेको प्रिन्सिपल शरद्चन्द्र रावल बताउँछन्। कोहलपुरको शिखा स्कुल, गोरखा पब्लिक स्कुल, नेपालगन्जको आदर्श स्कुल र सोफिया स्कुलका विद्यार्थी पनि पौडीमा अब्बल छन्। असार पहिलो साता ३५ जना विद्यार्थीसहित सिद्धार्थको पौडी पोखरीमा भेटिएकी आदर्शकी अतिरिक्त क्रियाकलाप शिक्षिका विमला खरेलले विद्यालयले एक दशकदेखि हरेक वर्ष कक्षा १ देखि १० सम्मका एक सय ५० जना विद्यार्थीलाई कम्तीमा १५ दिनको पौडी सिकाउने गरेको बताइन्।
आठौं र नवौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट संस्कारसँगै अजय परियार, अमित रावल, विशेष थारु, सुप्रिया रावल, सकिरा गुरुङलगायतका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। ‘आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बाँकेका विद्यालयमा पढ्ने १८ वर्षमुनिका विद्यार्थी छनोट भएका थिए’, पौडी प्रशिक्षक चन्द्र चौधरी भन्छन्, ‘जिल्लाका पौडी पोखरीमा दैनिक करिब पाँच सय जनाले पौडी खेल्ने गरेकोमा अधिकांश बालबालिका नै हुन्छन्।’
नेपालगन्जमा झन्डै एक दर्जन पौडी पोखरी छन्। नेपालगन्ज रंगशाला परिसरमा ५० मिटरको सबैभन्दा ठूूलो पौडी पोखरी छ। होटल सिग्नेट इन कृष्णामा २५ मिटरको र फोर स्टार होटल सिद्धार्थ भ्युमा १८ मिटरको पौडी पोखरी छ। दुई फाइभ स्टारसहित झन्डै एक दर्जनको हाराहारीमा स्टार होटल रहेको बाँकेमा अधिकांशमा पौडी पोखरी छन्। होटल बाहेक बालेगाउँको मेरो प्लानेट, कोहलपुरको ह्याप्पी वल्र्ड, राँझाको वन्डरल्यान्ड र खजुराको मिनी पार्क फनपार्कमा पनि पौडी पोखरी छन्। हरेक पोखरीमा पौडीका क्रेजी बालबालिका नै छन््।

होटल सिद्धार्थले त डेढ दशकदेखि पौडी प्रशिक्षक नै राखेर विद्यार्थीका लागि सस्तो प्याकेजमा पौडीमा सहुलियत दिएको सिद्धार्र्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए। ‘होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत पौडीमा लाग्ने खर्च मात्र लिएर बालबालिकालाई पौडी प्याकेज दिइरहेको छ। अधिकांश पौडी खेलाडीले सिद्धार्थबाट लाभ लिएका छन्’, प्रबन्धक न्यौपाने भन्छन्, ‘हाम्रो उद्देश्य पौडीबाट पैसा कमाउने होइन। बच्चाहरूले अतिरिक्त क्रियाकलाप अन्तर्गत जीवनोपयोगी पौडी सिकुन् र पौडीमै भविष्य खोजुन भन्ने हो।’ स्रोत : अन्नपूर्ण पोस्ट् दैैनिक