अतिक्रमण हटाएर धम्बोझीमा ब्याटमिन्टन प्रशिक्षण केन्द्र निर्माण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ ले अतिक्रमित जग्गा संरक्षण गर्दै धम्बोझी ब्याटमिन्टन प्रशिक्षण केन्द्र स्थापना गरेको छ । लामो समयदेखि अतिक्रमणको चपेटामा परेको सो जग्गाबाट अतिक्रमण हटाएर वडाले ब्याटमिन्टन प्रशिक्षण केन्द्र स्थापना गरेको हो । पूर्वसहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार प्रशिक्षण केन्द्रको उद्घाटन गरे ।

नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार ब्याटमिन्टन प्रशिक्षण केन्द्रका लागि सहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगन्ज उपमहानगरपालिकाको ३४ लाख र नेपालगन्ज–१ वडा कार्यालयको १५ लाख रुपैयाँ गरी एक करोड १५ लाख रुपैयाँ लगानी गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका सव–ओभरसियर मोहन ओलीका अनुसार चार हजार आठ सय १६ स्क्वायर फिटमा ब्याटमिन्टन कोर्ट बनेको छ । कोर्टभित्र तीन हजार स्क्वायर फिटमा पार्केटिङ गरिएको छ । जहाँ ३५ फिटभन्दा अग्लो स्टिल स्टक्टरको छानो बनाइएको छ ।
बाँके जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष सञ्जय थापा र ब्याटमिन्टनका प्रशिक्षक जयन्तकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता खेलाउन मिल्ने ब्याटमिन्टन प्रशिक्षण केन्द्र स्थापना भएकोमा निकै खुसी छन् ।

पूर्वराष्ट्रिय खेलाडीलाई सम्मान
वडा कार्यालयले राष्ट्रिय र अन्तराष्ट्रिर्य प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान सम्मान गरेको थियो । भलिबलका राजुराज शाही, कबड्डीका शाबन्ती सिंह, सुटिङका रमेश मल्ल र अशोककुमार पुन मगर, किक वक्सिङका राजु थापामगर, फुटबलका लक्ष्मी गुरुङ र लक्ष्मण थापामगरलाई सम्मान गरेको हो । सोही अवसरमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षण केन्द्र उद्घाटन भएकै दिन प्रथम वडा कप पुरुष भेट्रान खुल्ला ब्याटमिन्टन प्रतियोगिता पनि सुरु गरिएको छ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।