बेरुजु नहुने गरी काम गर्नुस् : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)ले नेपालगन्जमा आयोजना गरेको जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । फोटोहरु : किश्मतकुमार कक्षपतिको फेसबुकबाट

नेपालगन्ज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई बेरुजु नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेशले शनिबार नेपालगन्जमा आयोजना गरेको एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशका जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काम गर्दा बेरुजु र अनियमितता नहुने गरी काम गर्न निर्देशन दिएका हुन् । आगामी २०८४ को निर्वाचनलाई लक्षित गरेर जनमुखी काम गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विवादित विषयमा पनि सिफारिस नगर्न पनि जनप्रतिनिधिहरुलाई निर्देशन दिए । उनले भने, कुनै पनि सिफारिस गर्दा पार्टीलाई सम्झिनुहोस् । सम्बन्धको आधारमा सिफारिस नगर्नुस् । भोलि त्यही सिफारिस पार्टीका लागि घातक हुनसक्छ । एमालेका जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो भन्ने कुरा ख्याल गर्नुस् ।
अध्यक्ष ओलीले वर्तमान सरकारले सुशासनको क्षेत्रमा काम गर्न नसकेको भनेर आलोचना गरेका थिए । शनिबार र आइतबार दुई दिन चल्ने भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । आइतबार भने एमाले महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । महासचिव पोखरेल शनिबार साँझ नेपालगन्ज आइसकेका छन् ।