पानीमा रुझ्दै समावेशीले र संघमा बिहानै धर्नामा बसेर साझा प्रजातान्त्रिकद्वारा उम्मेदवारी दर्ता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी र साझा प्रजातान्त्रिक दुई प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ । शुक्रबार बिहानदेखि सुरु हुने उम्मेदवारी दर्ता कार्यक्रमका लागि पहिले आउनेको पहिले उम्मेदवारी दर्ता गर्ने व्यवस्था भएकाले साझा प्रजातान्त्रिक प्यानलको टोली बिहानै नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा धर्नामा बसेको थियो ।

अध्यक्ष पदमा ललितकुमार रौनियारको टोलीले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गरेको थियो । प्यानलबाट उपाध्यक्ष (बाणिज्य) विष्णुप्रसाद श्रेष्ठ, मोहम्मद सफिक बेहना (उद्योग) र करिश्मा योगी उपाध्यक्ष महिला, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दर्ता गराए । सदस्य पदमा सुनील भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाहा, अतुलकुमार गुप्ता, बलबहादुर बिष्ट, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवालले दर्ता गराए ।

समावेशी प्यानलले भने दिउँसो नेपालगन्जकोे न्यूरोडस्थित सचिवालयबाट याली निकालेर त्रिभुवन चोकस्थित संघको कार्यालय पुगेर उम्मेदवार दर्ता गराएको थियो । त्यत्तिबेला सिमसिमे पानी परिरहेको थियो ।

समावेशी प्यानलबाट अध्यक्षमा टंकबहादुर धामी, चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (बाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उपमहासचिव र सलाउद्दिन जसगढले कोषाध्यक्ष पदमा उम्मेदवारी दिए । सदस्य पदमा एक जना मात्र महिला समावेशी प्यानलले इन्दिराकुमारी शाहीको उम्मेदवारी दर्ता गरेको छ ।

दुबै प्यानलबाट सदस्यमा उम्मेदवार बन्ने शाही एक मात्र महिला हुन् । समावेशी प्यानलले तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) र रंगबहादुर खड्का सदस्य (वस्तुगत)बाट उम्मेदवारी दर्ता गरे ।

अध्यक्ष पदमा रचना श्रेष्ठ, उपाध्यक्ष (उद्योग)मा दीपेन्द्रकुमार जोशी, उपाध्यक्ष (बाणिज्य)मा ईश्वरकुमार श्रेष्ठ, सदस्य एशोसियटमा संजयकुमार अग्रवाल, विजयकुमार अधिकारी, उत्तमकुमार गुप्ता, नन्दाराम जैसी र सुनिलकुमार बानियाँको पनि उम्मेदवारी परेको संघको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।