समावेशीका धामी र साझा प्रजातान्त्रिकका रौनियारका बाझिए मत

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका अध्यक्षका प्रत्यासीसँग नेपालगन्ज जेसिजले ककस कार्यक्रम गरेको छ । सिमसिमे पानी परिरहेको बेला आइतबार अपरान्ह नेपालगन्जको त्रिभुवन चोकको पूर्वी लाइनमा नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडि नै जेसिसले अध्यक्षका उम्मेदवारलाई मञ्चमा राखेर मतदातालाई मेरो भोट तपाईलाई किन भनेर प्रश्न गर्न लगाएको थियो ।
पत्रकार अक्षरी पोखरेलले महिलालाई किन ३३ प्रतिशत उम्मेदवार नबनाएको भनेर सोधेको प्रश्नमा साझा प्रजातान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारले संघ राज्यको निकाय नभएकाले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व आवश्यक नभएको बताउँदै महिला उपाध्यक्ष र दुई महिला सदस्य मनोनित गरेर महिलाको प्रतिनिधित्व हुने बताएका थिए । समावेशी प्यानलका अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले भने संघमा महिलाको कम प्रतिनिधित्व भएकाले बढी भन्दा बढी महिलालाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका थिए ।

रमेशकुमार कुमालले सोधेको संघको सदस्यता विस्तारबारे धामीले नेपालगन्ज उद्योग वाणिज्य संघ जिल्ला संघ भएकाले जिल्लाभरीका उद्योगी व्यवसायीलाई समेट्न सक्दा २५ हजार सदस्य हुने दाबी गरेका थिए भने रौनियारले गाउँगाउँबाट नयाँ सदस्य बनेका कुखुरापालन, बंगुरपालन किसानलाई फर्जी भएकोे आशंका गर्दै सदस्य संख्या बढाउन नहुनेमा जोड दिएका थिए । उनले पालिकास्तरमा संघ बनाएर पदेन सदस्य बनाउनुपर्ने बताएका थिए ।
डा.विनोद कर्णले नगरको फोहरको ४० प्रतिशत ब्यापारजन्य फोहर भएकाले किन कसैले पनि प्रतिबद्धता पत्रमा नसमेटेको भनेर राखेको जिज्ञासामा रौनियारले पीपीपी मोडलमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए भने धामीले फोहरलाई मोहर बनाउन तीन तहकै सरकारसँग समन्वय गर्ने बताएका थिए । खुला सीमालाई दुबै जनाले समस्याको रुपमा देखे पनि धामीले भएको कानुन नै कार्यान्वयन गर्दा तत्काल समस्याको समाधान हुने र रौनियारले सरकारको कर नीति नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।
गोला प्रथाबाट पहिले बोल्ने पालो पाएका रौनियारले यस अघिका तीन कार्यकाल (अब्दुल वाहिद मन्सुरी, नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठ)ले उद्योगी व्यवसायीका समस्या समाधान गर्न नसकेको भन्दै आलोचनाबाट भाषणको सुरुवात गरेका थिए । धामीले बाँकेको विकासमा योगदान गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइरालादेखि ५६ वर्षे इतिहास बोकेको नेपालगन्ज उद्योग वाणिज्य संघलाई स्थापित गर्ने पूर्वअध्यक्ष र अग्रजलाई सम्मान गर्दै मन्द मुस्कानसहित भाषण थालेका थिए । कार्यक्रमको अन्तिममा अध्यक्ष पदका दुबै उम्मेदवारले हात मिलाउँदै अंगालो हालेर सौहार्दता प्रकट गरेका थिए ।

कार्यक्रममा समावेशी प्यानल र प्यानलका अध्यक्ष टंकबहादुर धामीको परिचय प्यानलको प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले गरेका थिए । साझा प्रजातान्त्रिक प्यानलका अध्यक्ष ललितकुमार रौनियारको परिचय भने तोजेन्द्र विकले गरे । जेसिजका पूर्वकेन्द्रीय अध्यक्ष रविन्द्र कर्ण र पूर्व सिनेटर हेमन्त कर्माचार्यले सहजीकरण गरेको ककस कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य तथा जेसीस नेपालगन्जका पूर्वअध्यक्ष मीना श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।