राप्रपाद्वारा बेहनालाई ५ वर्षे कारबाही, एमालेद्वारा जोशीलाई कारबाही गर्न सिफारिस

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा पार्टीको नीति विपरित उम्मेदवारी दिएका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना उपाध्यक्ष पदका उम्मेदवारलाई सम्बद्ध पार्टीले कारबाही गरेका छन् ।

राप्रपा बाँकेको अनुशासन समितिका संयोजक यमबहादुर रावतले मंगलबार विज्ञप्ती जारी गरी संघको उपाध्यक्ष (उद्योग) पदका साझा प्रजातान्त्रिक समूहका उम्मेदवार मो.सफिक बेहनालाई पार्टीको निर्णय विपरित आधिकारिक उम्मेदवारलाई हराउन उम्मेदवारी दिएकाले पार्टीको बाँके क्षेत्र नं. २ ख प्रदेश अध्यक्ष तथा सदस्य पद पनि नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएका छन् । राप्रपा समावेशी प्यानलसँग चुनावी मैदानमा सहकार्य गरेर अघि बढेको छ ।
त्यसैगरी एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले पनि मंगलबार विज्ञप्ती प्रकाशित गरेर उपाध्यक्ष (उद्योग) पदमा उम्मेदवारी दिएका पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य दीपेन्द्रकुमार जोशी पार्टीको आधिकारिक उम्मेदवार नरहेको जानकारी गराउँदै उम्मेदवारी फिर्ता लिन मौखिक दवाब दिँदा अटेरी गरेकाले कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेका छन् । अध्यक्ष कक्षपतिले टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानलका उम्मेदवारलाई विजयी बनाउन मतदानसँग अपिल पनि गरेका छन् ।