चिरञ्जीवी ओलीले बनाए संघमा रेकर्ड

दुई दशकयताका महासचिवहरु त्यो भन्दा माथिल्लो पदमा पुगेका थिएनन्, ओेलीले उपाध्यक्ष निर्वाचित भएर संघको प्रचलित अभ्यास र मान्यता तोडेर रेकर्ड राखे

नेपालगन्ज : संस्थाको महासचिव वा सचिवलाई भावी नेतृत्वको स्वभाविक दाबेदार मानिन्छ । नेतृत्वको रुपमा तयार गरिन्छ । आफै पनि आकांक्षी बन्छन् । कति आफ्नै कार्यशैलीले त्यो अवसर गुमाउँछन् । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा त्यो मान्यता ठीक उल्टो भएको छ । देशकै ‘टप टेन’ ‘क’ वर्गको नेपालगन्ज उद्योग वाणिज्य संघमा २०२४ सालमा पहिलो अध्यक्ष स्व.ओेमकार मल खेतानदेखि अब्दुल वाहिद मन्सुरीसम्मको कार्यकालमा झन्डै एक दर्जनले महासचिव बन्ने अवसर पाए । महासचिवपछि कन्हैयालाल टन्डन र शतिशचन्द्र अग्रवालले मात्र संघको नेतृत्व सम्हाले । दुई दशक यता श्यामकुमार शर्मा, अशोक कर्माचार्य, विष्णु लामिछाने, अजयकुमार टण्डनलगायत योग्यता, क्षमता र प्रतिभा भएर पनि महासचिव भन्दा माथिल्लो पदमा पुगेनन् । निवर्तमान महासचिव चिरञ्जीवी ओेली उपाध्यक्ष (उद्योग)मा लोकप्रिय मतका साथ निर्वाचित भएर संघको प्रचलित अभ्यास र मान्यता तोडेर रेकर्ड राख्न सफल भएका छन् । कार्य समितिमा रहेको ब्यक्ति कार्यशैलीका मतदाता माझ अलोकप्रिय हुुन्छन् । साना–साना कमी कमजोरी पनि चुनावमा विरोधीले बदलाको रुपमा साँध्छन् । पराजयको कारण बन्छन् । महासचिव पदको दुई तिहाइ कार्यकाल कोभिड र त्यसपछि आर्थिक तरलताको मारमा परेका उद्योगी, व्यवसायी र सर्वसाधारणको सेवामा निरन्तर क्रियाशील रहेका कारण पनि ओली संघमा लोकप्रिय थिए । नेपालगन्ज रंगशालाको कबर्ड हलमा आइतबार राति सम्पन्न मतगणनामा ओलीले निकटतम् प्रतिद्वन्द्वी मो.सफिक बेहनालाई ८७२ मतान्तरले पराजित गरे । ओलीले दुई हजार १०५ र बेहनाले एक हजार २३३ मत ल्याए ।

संघका पूर्वमहासचिव अशोक कर्माचार्य महासचिव भएर उपाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुने पहिलो ब्यक्ति ओली मात्र भएको बताउँछन् । ‘अध्यक्षपछिको शक्तिशाली पद महासचिव नै हुन्छ । काबिलवाला भए पनि व्यस्त व्यवसायिक जीवनका कारण धेरै महासचिवले नेतृत्वमा पुग्ने आँट नै गर्दैनन्’, कर्माचार्य भन्छन्, ‘अध्यक्ष, उपाध्यक्ष बन्न चाहनेलाई अघि बढ्नबाट टिमकैै साथीले रोक्छन् । उम्मेदवार बने निर्वाचनमा घात गरेर हराइदिन्छन् ।’
ओलीलाई संघमा नेतृत्वको अफर आएको थियो । औद्योगिक कार्य व्यस्तताका कारण पर्याप्त समय दिन नसक्ने भए । सहकर्मी टंकबहादुर धामीलाई समावेशी प्यानलबाट अध्यक्ष प्रस्तावित गर्दै ओली कार्यकारी पदबाट एक कदम पछाडि हट्दै उपाध्यक्षमा बसेर टिम बलियो बनाउन लागे र सफल भए । अत्यधिक मतले उपाध्यक्षमा निर्वाचित भएर उनले आफूलाई अब्बल साबित गरेका छन् ।

डेढ दशकमै ओेलीले व्यवसायिक क्षेत्रमा सफल ब्यक्तिको पहिचान बनाएका छन् । कोल्ड स्टोरबाट व्यवसायिक यात्रा सुरु गरेका ओली २०६६ सालपछि ओली ट्रेड लिंकबाट मोबाइल डिलरको रुपमा कारोबार गरिरहेका छन् । नेपालगन्ज इलेक्ट्रोनिक एशोसियसनको संस्थापक महासचिव भएर उनले एशोसियनमा पनि सफल अध्यक्ष भएर काम गरेका छन् । उनी नेपाल मोबाइल वितरक संघको केन्द्रीय उपाध्यक्ष पनि हुन् । नेपालगन्ज पेट प्लाष्ट इन्डष्ट्रिज प्रा.लि. मार्फत बाँकेमा उद्योगपति बनेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको पहिलो कार्यकालमै सफल महासचिव हुँदै अब उपाध्यक्ष (प्रथम उपाध्यक्ष)को जिम्मेवारी सम्हाल्दै गरेका ओली नेपालगन्ज उद्योग वाणिज्य संघको भावी अध्यक्षको स्वभाविक दाबेदार बनेका छन् । उनले त्यो जिम्मेवारी वहन गर्न पाउँछन् वा पाउँदैनन् । त्यसका लागि अबको तीन वर्षे कार्यकालको कामले मूल्याङ्कन गर्नेछ ।