चन्द्रयान-३ : चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय अन्तरिक्ष यानको ऐतिहासिक अवतरण

नेपालगन्ज : भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा एक मानवरहित अन्तरिक्षयान सफल अवतरण गराउँदै इतिहास रचेको छ।
यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। चन्द्रयान ३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समय अनुसार बुधवार ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गरेको थियो। ४ जुलाईमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान ३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो।
अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित मानिसहरू र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै त्यस क्षणलाई अविश्मरणीय र अभूतपूर्व बताए। चन्द्रयान ३ ले चन्द्रमाको सतह छोए लगत्तैदेखि भारतभर खुसीयाली मनाइएका छन्।अमेरिकी अन्तरिक्ष संस्था नासा र युरोपेली अन्तरिक्ष निकाय इएसएले चन्द्रयान(३ को सफलताका लागि इसरोलाई बधाई दिएका छन्। वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो। गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।
चन्द्रयान ३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्। अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ। चन्द्रयान ३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।
यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए। चन्द्रयान ३ अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ। रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बीबीसीलाई बताए। स्रोत ः बीबीसी न्यूज नेपाली