नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीसहित निर्वाचित कार्य समितिले पाए बैधता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीसहितको नवनिर्वाचित कार्य समितिले शुक्रबारदेखि बैैधता पाएको छ ।

निर्वाचन आयुक्त टीकाजंग सिंहले अध्यक्ष धामीलाई र पदाधिकारी तथा सदस्यलाई अध्यक्ष धमीले सपथ ग्रहण गराएपछि निर्वाचित भएको झन्डै एक महिनापछि कार्य समितिले वैधता पाएको हो । महासचिव पदको विवाद उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा विचाराधीन छ ।

शुक्रबार नेपालगन्जमा अधिकतम् तापक्रम ३५.६ डिग्री सेल्सियस थियो । गर्मीको प्रवाह नगरेर कार्य समितिका पदाधिकारी र सदस्यहरु दौरा सुरुवाल, कोट पाइन्ट, जुहारी कोट र ढाका टोपीमा ठाँटिएर सपथ ग्रहणमा सहभागी भएका थिए ।

फरक फरक प्यानलबाट निर्वाचित भए पनि उनीहरुबीच आत्मियता र निकै सौर्हादता देखिएको थियो । अंकमाल गर्दै फोटो सेसनमा पनि रमाएका थिए ।


नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामीले निर्वाचन जित्नका लागि बनाइएका प्यानल निर्वाचनमा मात्र सिमित भएकाले निर्वाचित टिमले उद्योगी व्यवसायीको हकहितमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले राज्यका राम्रा नीति सफल बनाउन लाग्ने र उद्योगी व्यवसायी अहितकर नीति तथा कार्यक्रम बिरुद्ध खरो रुपमा विरोधमा उत्रिने चेतावनी दिए ।

कार्यक्रममा पूर्व सुनिलकुमार शर्मा र निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संघको गरीमा राख्ने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा निर्वाचन आयुक्त टीकाजंग सिंहले महासचिव सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले आफूले बोल्न नहुने बताउँदै निर्वाचन पद्दतिलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए । सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष धामीले पदबहाल पनि गरेका थिए ।

निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले धामीलाई पद हस्तान्तरण गरेका थिए । पद बहालीसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको शुक्रबार नै बसेको पहिलो बैठकले कार्यबाहक महासचिवको जिम्मेवारी उपमहासचिव टेकबहादुर खड्कालाई दिएको छ ।