बाँके निकुञ्जमा पनि लाग्यो टाइम कार्ड

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गुड्ने गाडीहरुमा पनि टाइम कार्ड लागू भएको छ । निकुञ्ज क्षेत्रको ओभरीदेखि खैरीसम्मको १५ किलोमिटर क्षेत्रको सडक खण्डमा सोमबार बिहान ८ः३० बजेदेखि कम्तीमा २३ देखि बढीमा २८ मिनेटको समय लाग्ने गरी सवारी साधनमा टाइम कार्ड लागू भएको नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काले बताए । बाँके निकुञ्जमा टाइम कार्ड लागू नहुँदा दुर्घटना बढेको बारे मेरोखुसी लगायतका मिडियामा समाचार प्रकाशित भएका थिए ।
२५ भदौमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात निकुञ्ज क्षेत्रमा सवारी दुर्घटनाबाट हुने धन जनको क्षति कम गर्नको लागि टाईमकार्ड लगाउने विषयमा सरोकारवालासँग छलफल गरेको थियो । निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू भएपछि दुर्घटनाबाट हुने मृत्यु रोकिने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारी बताउँछन् । यस अघि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागूू भइसकेको छ ।