प्लान नेपालको ५ वर्षे राष्ट्रिय रणनीति सार्वजानिक

वीरेन्द्रनगर (सुर्खेत) : प्लान इन्टरनेशनल नेपालले पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजानिक गरेको छ ।
४५औँ वाार्षिकोत्सवको अवसरमा प्लान नेपालको पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रिय रणनीति सार्वजानिक गरेका हुन् । प्लानको राष्ट्रिय रणनीति, २०२३–२०२८ मा थप आर्थिक श्रोत प्राप्त गर्न सकेमा सुदूरपश्चिम, लुम्बिनी, मधेश र अन्य प्रदेशमा थप १५ जिल्लाहरुमा काम गर्ने लक्ष्य लिइएको छ । रणनीतिले प्लानलाई बाल अधिकार प्रवद्र्धन र बालिकाहरुको समानताको लागि पैरवी गर्ने संस्था तथा मानवीय संस्थाको रुपमा विकास गर्दै लैजाने उल्लेख छ । प्लानले सन् १९७८ मा पहिलो पटक काठमाडौंको सीतापाइलाबाट बालबालिकाहरुका लागि काम गर्न सुरु गरेको थियो । अहिले देशका विभिन्न प्रदेशमा काम गरिरहेको छ । प्लानले आगामी पाँच वर्षमा कर्णाली प्रदेशमा चार अर्ब ५० करोडको बजेट खर्च गरी काम गर्ने जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा गुणस्तरीय शिक्षा र सामाजिक न्यायसहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताए । उनले भने, ‘दिगो विकासका लक्ष्य र मानव विकास सूचकाङ्कमा कर्णाली धेरै पछाडि छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरीय शिक्षा, गाँउमै भरपर्दो आधारभूत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसरसहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ ।’ उनले समृद्ध कर्णाली, सुखारी कर्णालीवासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक रहेको बताए । कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक विभेद र कुप्रथाहरुको अन्त्य जरुरी रहेकाले त्यसैमा केन्द्रीत भएर सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्ग पोख्रेलले प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको बताए । उनले भने, ‘कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै छन् । त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनीय छ ।’ सरकारले बालविवाह, बहुविवाह, लागूऔषध दुव्र्यसनलगायतका सामाजिक विकृतिहरुमुक्त समाज, गुणस्तरीय शिक्षा र स्वास्थ्य, बाल संरक्षण जस्ता महत्वपूर्ण सवालहरुमा भौतिक विकासदेखि चेतनाको विकासका लागि पनि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भबिश्यसँग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गरे ।
कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकास मन्त्री उर्मिला विश्वकर्माले कर्णालीका विकटवस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम गरेको भनेर प्रशंशा गरिन् । कार्यक्रममा प्लान इन्टरनेशलका राष्ट्रिय निर्देशक रामकिशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफूहरुले काम गरिरहेको बताए । उनले भने, ‘यसै वर्षदेखी कर्णाली, सुदूरपश्चिम र लुम्बीनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम विस्तार गर्ने योजना छ ।’

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पश्चिम क्षेत्रीय कार्यालय प्रमुख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रबद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने बताइन् । उनले प्रारम्भिक बालविकास, हिंसाबाट संरक्षण, गुणस्तरीय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्ट, बाँके जिल्ला समन्वय प्रमुख ज्ञनेन्द्रकुमार चौधरी, कालिकोटका प्रमुख धनजीत शाही, जुम्लाका प्रमुख गौरीनन्द आचार्य, डोल्पा प्रमुख श्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमुख लक्ष्मण शाही, कालिकोटको नगरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट बर्दियाको मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्ने बताएका थिए ।
उक्त कार्यक्रममा प्लान इन्टरनेशन नेपालसँगको साझेदारीमा काम गर्ने गैससका पदाधिकारीहरु, अन्तराष्ट्रीय गैसससमेतको समभागिता रहेको थियो । प्लानले आफूले काम गर्ने समुदाय तथा कार्यक्षेत्रमा परियोजनामार्फत गरेको नमुना, बालमैत्री कक्षाहरु, घरमा आधारित सिकाइ वातावरण निर्माणका लागि सिकाइकुना र क्षमता , समानता र आकांक्षा प्रबद्र्धनका लागि स्टीम अहेड परियोजनाबारे जानकारी दिन स्टल समेट राखिएको थियो ।