‘हतार नगरौं, आधिकारिक सूचना मात्र सम्प्रेषण गरौंं’ : पत्रकार महासंंघ बाँके

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पत्रकारलाई नेपालगन्जमा उत्पन्न संवेदनशील परिस्थितिमा आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ ।
महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार अपिल प्रकाशित गरी संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हतारो नगरी आधिकारिक निकायबाट अधिकारिक व्यक्तिले दिएको सूचनालाई मात्र प्राथामिकता दिइ समाचार सम्प्रेषण गरौं ।’ महासंघले पत्रकार आचारसंहितामा उल्लेख भएको,–‘विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन’ भन्ने बिषयलाई ध्यान दिन पनि पत्रकारहरुसँग अनुरोध गरेको छ । स्थलगत रुपमा समाचार संकलन गर्न जाँदा आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारी साधनमा अस्थायी रूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँस्न र देखिने गरी आफ्नो परिचयपत्र लगाउन, यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन पनि महासंघले पत्रकारलाई ध्यानाकर्षण गरेको छ । नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताका साथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैसँग पनि महासंघले आग्रह गरेको छ ।