शाहरुख र सलमान खान भेट्ने भन्दै भारत गएको छोरो १४ वर्षपछि घर फर्केपछि…

बाँकेको खजुरा गाउँपालिका–२ बहादुरगञ्ज (सैनिक)का १४ वर्षपछि परिवारको सम्पर्कमा आएका आकाश आलेलाई बुवा अशोक आलेको जिम्मा लगाउँदै श्रद्धा रिहँबिलिटेशन फाउण्डेसन मुम्बइका समाजकर्ता सकिल अहमद

नेपालगन्ज : ११ वर्षको उमेरमा भारत गएका बाँकेको एक युवा १४ वर्षपछि घर फर्केका छन् ।
बलिउड नायकद्वय सलमान खान र शाखरुख खानलाई भेट्ने भन्दै घर छोडेर भारत गएका खजुरा गाउँपालिका–२ बहादुरगञ्ज (सैनिक)का अशोक आलेका छोरा आकाश आले घर फर्केका हुन् । घर छोडे यता कुनै अत्तोपत्तो नै थिएन । हराएको छोरो भेटिँदा उनमा खुसीको सीमा नै छैन । ‘गाउँघरमा हेराउनेले दक्षिणतिर छ भनेका थिए । छोरो मान्छे हो । इण्डियातिर भए एकदिन पक्कै आउँछ भन्ने लागेको थियो’, नेपालगन्ज बसपार्कको पश्चिम दक्षिणी मूल गेटमा आफन्तहरुसहित छोरा लिन आएका बेला भेटिएका बावु अशोकले आशावादी हुँदै भने, ‘लाड प्यारले हुर्काएका थियौं । जिउँदो भए एक न एकदिन अंश खोज्दै आउँछ भन्ने लागेको थियो । छोरो फर्कियो । निकै खुुसी छु ।’ बलिउड नायकलाई भेट्ने सपना अधुरै रहेका आकाश दिल्लीमा कुलतमा फस्छन् । त्यसपछि उनको जागिर पनि जान्छ । २५ जुन २०२३ मा उनलाई श्रद्धा रिहँबिलिटेशन फाउण्डेसन मुम्बइको टोलीले उद्दार गरेर दिल्लीस्थित अपना घर आश्रममा राखेर बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.भरत भटवानीले चार महिना उपचार गर्छन् । डा. भटवानीले परिवारसँग पुनर्मिलन गराउन अनुमति दिएपछि फाउण्डेसनबाट समाजकर्ता सकिल अहमद नेपाल आएका हुन् ।

‘हाम्रो टोलीले सडकमा नशाले लठ्ठ भएको बेला उद्दार गरेका थियौं । मानसिक अवस्था कमजोर थियो । घर, परिवार र जिल्ला पनि भन्न सक्दैनथ्यो’, अहमदले प्रष्ट पारे, ‘सुरुमा त घर शिवपुरी काठमाडौं भन्यो । ठाउँ पत्ता लगाउन खोज्यौं, भेटेनौं । हामीले हिम्मत हारेनौं । खोज्दै जाँदा घर परिवार पत्ता लाग्यो ।’