बाँकेमा जनस्तरबाट प्रदेशस्तरीय पौडी प्रतियोगिता हुँदै

नेपालगन्ज स्वीमिङ क्लबले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलन

नेपालगन्ज : जनस्तरबाट नेपालगन्जमा आगामी शनिबार लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ ।
बाँकेका पौडी पोखरी सञ्चालक, पौडी खेलाडीका अभिभावक र खेलप्रेमीले नेपालगन्ज स्वीमिङ क्लब दर्ता गरेर ‘पहिलो नेपालगन्ज स्वीमिङ च्याम्पियनसीप’ गर्न लागेको बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा ८, १०, १२, १४ र १५ वर्ष उमेरका अतिरिक्त खुल्ला समूहमा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीको सहभागिता रहने बताए । अध्यक्ष न्यौपानेले भने, ‘आठदेखि १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटरको दूरीमा भने अन्य खेलाडीले ५० मिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्लामा भने बटरफ्लाइ र फ्रिस्टाइलमा स्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराईलगायतका पाहुनाहरु नेपालगन्ज आउने कार्यक्रम रहेको क्लबले जनाएको छ ।