चुरे माविका गौरवपूर्ण ५० वर्ष पूरा : भव्य स्वर्ण महोत्सव

बगनाहा (बर्दिया) : बर्दिया जिल्लाको चुरे माध्यमिक विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन गरे । मुख्यमन्त्री चौधरीले चुरे स्वर्णोत्सव स्मारिकाको पनि विमोेचन गरे । उनले लुम्बिनी प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिने पनि बताए ।

चुरे मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण थारुको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सवमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा कुश्मा थारु आस्था, जन्यजय तिमिल्सैना, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

सोही अवसरमा विद्यालयका संस्थापक, संस्थापक शिक्षक, प्रधानाध्यापक, अक्षयकोषका दाता र पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवमा झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

यस्तो छ चुरेको इतिहास
३ पुस २०३० मा चुरे निम्न माध्यमिक विद्यालयको रुपमा स्थापना भएको थियो । स्थापनाको झन्डै साढे दुई महिनापछि अर्थात १२ फागुनमा क्षेत्रीय शिक्षा निर्देशनालय नेपालगन्जबाट निमाविको अनुमति पाएर चारपाखे खरको छानोमा कक्षा ६ देखि ८ सम्मको पढाइ भएको थियो । १५ माघ २०३४ मा माविको अनुमति पाएको चुरेमा २०३५ सालमा पहिलो पटक विद्यार्थीले एसएलसी दिएका थिए । चुरेका संस्थापक प्रधानाध्यापक शिवराज जोशीका अनुसार बर्दियामा मावि सञ्चालन गर्ने चुरे तेस्रो विद्यालय हो । चुरेभन्दा अघि गुलरियाको महाकवि देवकोटा मावि र राजापुरको अमर सहिद दशरथ चन्द्र मावि सञ्चालनमा आएका थिए ।
१६ साउन २०५६ मानविकी संकायबाट प्लस टुको अनुमति पाएको थियो । २०६३ सालदेखि चुरे क्याम्पस पनि स्थापना भयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटिइभीटी)बाट २०७२ देखि विद्यालयलाई प्राविधिक धार (१५ महिने बाली विज्ञान), १८ महिने पशु विज्ञान र ३ वर्षे डिप्लोेमा तहको कृषि बाली विज्ञानको सम्बन्धन प्राप्त भयो । अहिले त तीन वर्षे पशु विज्ञानको कक्षा पनि सञ्चालन भइरहेको छ । विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म ७०१ छात्रा र ७०५ छात्र गरी एक हजार ४०६ विद्यार्थी अध्ययनरत छन् । २०७६ देखि कक्षा १ देखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पनि पढाइ भइरहेको छ । विद्यालयको नाममा ठाकुरबाबाका विभिन्न ५ ठाउँमा गरी ५ बिघा १५ कठ्ठा जग्गा रहेको छ । स्थायी, निजी स्थायी, अनुदान, नगर अनुदान, राहात, निजी स्रोत, आंशिक र बालविकासका गरी ४९ जना शिक्षक शिक्षिका कार्यरत छन् ।