डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरणमा विभेद, वडाध्यक्षद्वारा विरोध

डुडुवाको वडा नं. १ देखि ४ नं. सम्म सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिने, वडा नं. ५ र ६ मा वासिन्दाले भने नेपालगन्ज जानुपर्ने

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपलिकाले निकै तामझामका साथ वडा नं २ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साइदा बानो र वडाध्यक्ष दुर्गाप्रसाद वर्माले चालु आर्थिक वर्षको २०८०/०८१ पहिलो त्रैमासिक साउनदेखि असोज महिनासम्मको सामाजिक सुरक्षा भत्ता सोमबार बेतहनी प्रहरी चौकीमा बाँडेका थिए । नेपालगन्जमा भत्ता लिन जाँदा सास्ती भोग्नेले गाउँमै पाएपछि खुसी भएका छन् । गाउँमै भत्ता वितरण गर्ने गाउँपालिकाको यो कार्यको प्रशंशा पनि भइरहेको छ ।एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरेकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद दिँदै अन्य वडामा पनि वितरण शुभारम्भ गर्न सुझाव दिएका छन् ।

गाउँपालिकामा ६ वटा वडा छन् । वडा नं. २ का सामाजिक सुरक्षा लिनेलाई सहज भयो तर अन्य वडाका वासिन्दाले पनि के वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँछन् त ?

वडा नं. ६ का वडाध्यक्ष मोहन मिश्रले सोमबार नै लेखेको स्टाटस अनुसार डुडुवाको वडा नं. १ देखि ४ नं. सम्म सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिनेछ । वडा नं. ५ र ६ मा वासिन्दाले भने सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्ज जानुपर्नेछ । वडाध्यक्ष मिश्र लेख्छन्, ‘डडुवा गाउँपालिकाको १ देखि ४ नंं. वडासम्म दुई चार दिनमै सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट नै वितरण गर्ने रे ? नेकपा (एमाले)को आन्दोलनको फलस्वरुप लिन सकिन्छ तर एमाले जितेको वडा नं. ५ र ६ मा वडा कार्यालयबाट नभइ नेपालगन्जमा भत्ता लिन जानु पर्ने रे । यो कस्तो विभेद ?’