विद्यालय संस्थापकको कोषबाट गोरखा स्कुलमा खेल सप्ताह सुरु

कोहलपुर : संस्थागत विद्यालय भनेपछि नाफा कमाउने उद्देश्य मात्र हो भन्ने ठानिन्छ । अझ विद्यालयका संस्थापकबीच मुनाफा लिने कुरा प्राथमिकतामा पर्छ । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलको हकमा यो नियम लागू हुँदैन । यो विद्यालयका संस्थापकले २०६८ सालदेखि आफ्नो छुट्टै कोष स्थापना गरेर खेल सञ्चालन गर्छन् । विद्यालयका छात्रछात्राबीच अन्तर सदनात्मक फुटबल र एथलेटिक्सका साथै शिक्षक कर्मचारीहरुबीच प्रतिष्पर्धा हुने गरी खेलकुद सप्ताह आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, दोस्रोलाई ११ हजार र संस्थापक, शिक्षक तथा कर्मचारीबीच हुने खेलका विजेताले १० हजार नगद पुरस्कार दिन्छन् । हरेक वर्ष विद्यालयले खेल सप्ताह आयोजना गर्छ ।

विद्यालयका सञ्चालक अध्यक्ष केशरबहादुर आलेले सोमबार खेल सप्ताहको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आलेले विद्यार्र्थीलाई पाठ्यक्रमको ज्ञान मात्र नदिएर उनीहरुभित्र रहेको प्रतिभालाई खेलको माध्यमबाट चौतर्फी विकास गर्न प्रतियोगिता आयोेजना गरिएको बताए ।

खेलकुद विद्यार्थीको निम्ति आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर समेत भएको उनले भनाइ थियो । प्रतियोगिता आगामी २० पुससम्म सञ्चालन हुनेछ ।