सहकारीको रकम ठगी गर्ने अध्यक्ष हरदेव बक्स चौधरीसहित ९ जनालाई पाँच पाँच वर्ष कैद सजाय

नेपालगन्ज : नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले बहालवालासहित ३ जना अध्यक्षसमेत १९ जनालाई कानुन बमोजिम हदैसम्मको कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बिहीबार सहकारीका ३ अध्यक्षसहित ९ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना, २ जनालाई चार वर्ष कैद र ४० हजार रुपैयाँ, एक जनालाई ३ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना, एक जनालाई २ वर्ष ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना, २ जनालाई दुई दुई वर्ष र ४ जनालाई जनही एक वर्षका दरले कैद सजाय भएको छ । दुई वर्ष र एक वर्ष कैद सजाय हुनेलाई जनही पाँच हजारका दरले जरिवानाको फैसला गरेका हुन् । मुलुकी ऐन ठगीको महलमा पाँच वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था अनुरुप हदैसम्म कारबाही गरिएको फैसलामा जनाइएको छ ।

सहकारीका वर्तमान अध्यक्ष हरदेव बक्स चौधरी, पूर्व अध्यक्ष अम्मरबहादुर खड्का, गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लीलाप्रसाद ओली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच पाँच वर्षको कैद सजाय सुनाइएको छ । त्यसैगरी बलराम यादव र गौरव श्रेष्ठलाई चार चार वर्ष, रविन्द्र थापालाई तीन वर्ष, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद सजाय गरिएको छ । त्यसैगरी तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई दुई वर्ष, स्थिरमणि बज्राचार्य, लीला शाह, सन्दीप शर्मा र शारदा थापालाई एक एक वर्ष कैद सजाय तोकिएको छ ।