ई-रिक्सा व्यवस्थित गर्दा विवादमा नेपालगन्ज उपमहानगर !

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ई–रिक्सा व्यवस्थित गर्दै गर्दै विवादित बनेको छ । एक वर्षदेखि विभिन्न प्रक्रिया पूरा गर्दै मंगलबार पाँच वटा अवैध अटो रिक्सालाई डोजर चलाएर नष्ट गरेको थियो । अटो रिक्सामा डोजर चलाएको फोटो भाइरल भएपछि उपमहानगरपालिकाको कदमको आलोचना भएपछि नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बुधबार पत्रकार सम्मेलन गरेर अटो रिक्सा व्यवस्थित गर्न लागेकाले सहयोग गर्न नगरवासीसँग आग्रह गरे । ‘अटो रिक्सालाई डोजर चलाएर नष्ट गर्ने विधि नमिलेकै हो । यसबाट नगरवासीमा पर्न गएको नकारात्मक प्रभावमा क्षमा चाहन्छु’, उनले भने, ‘नष्ट नगरेर अटो धनीलाई दिँदा पुनः प्रयोग गर्ने खतरा थियो । हामीले अटोको ब्याट्री निकालेर पुनः प्रयोग गर्न नमिल्ने गरी नष्ट गरेका हौं ।’

नेपालगन्ज उपमहानगरले ६३१ वटा ई–रिक्सा नियन्त्रणमा लिएकोमा आवश्यक कागजात र प्रक्रिया पुरााएर ५५५ वटा ई–रिक्सा फिर्ता दिएको जनाएको छ । जसमध्ये ७६ ई–रिक्सा नियन्त्रणमै रहेकोमा २८ वटा ई–रिक्सा अवैध भएको नगर प्रमुख विष्टले बताए । २८ रिक्सामध्ये १४ वटा चेसिस नं. नभएका, १० वटा पूर्ण अवैध र ४ वटा वल्र्डिङ गरेर सञ्चालन भएको जनाएको छ । नगर प्रमुख विष्टले वीपी चोकस्थिन सुनाखरी रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरिरहँदा उपमहानगरपालिकाको गेटमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेका थिए ।