राप्तीसोनारीको निःशुल्क स्वास्थ्य शिविरबाट ३०७ लाभान्वित
नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३०७ सय जना लाभान्वित भएका छन् ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा शनिवार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरी लगायतका १९ वटा गाउँका सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । शिविरमा ४६ जना पुरुष र १११ जना महिला सहित १५७ जनाको जनरलतर्फ स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा महिला १०१ जना र ४९ जना पुरुष समेत १५० जनाले आँखा परीक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।
उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष जिउलाल थारु र महिला तर्फ ८० वर्षकी सुकुमराजी थारुले पनि स्वास्थ्य परीक्षण र आँखा परिक्षण गराएका थिए । शिविरमा सबभन्दा कम उमेर ९ महिनाकी टीका थापा र ११ वर्षको संयोग पुनले स्वास्थ्य परिक्षण गराएका थिए ।
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको उक्त शिविरका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका सल्लाहकार लवराज खरेलले ७३ वर्षिया टीका घर्ति र ७० वर्षिय नन्दुराम थारुलाई विरामी जाँच्ने पर्चा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गरेका थिए । सो अवसरमा प्रमुख अतिथि खरेलले वडा नं. ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरिन् । बक्सभित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करिब २० थरी आौषधिहरु उपलब्ध गरिएको छ ।
कार्यक्रमको अध्यक्षता नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला चौधरीले गरेको शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परीक्षण गरेका थिए भने स्टाफ नर्सहरु दीपा थापा र सञ्जु लामाले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए । डा. हर्षित पाठकका अनुसार स्वास्थ्य परिक्षण गरिएका छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको थियो ।