सरकारी गाडीमै भन्सार छली !

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले सीमावर्ती देशबाट एक सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार तिनुपर्ने व्यवस्था गरे पनि बाँकेको जमुनाहा नाकामा भने सरकारी गाडीमै भन्सार छलेर सामान ल्याउने गरेको जनाएको छ ।
संघले शुक्रबार नेपालगन्जमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सरकारी अधिकारी नै गाडी लिएर सीमावर्ती बजार जाने गरेको ध्यानाकर्षण गरेको हो । संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीमबहादुर रानाभाटद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, सरकारी गाडी लिएर जनप्रतिनिधि र कर्मचारी भारतीय बजारमा किनमेल गर्न जाने र फूर्ति लाएर गाडी चेकजाँचमा अवरोध सिर्जना गर्ने कार्य तुरुन्त बन्द गरियोस् ।
संघको १४ बुँदे ज्ञापन पत्रमा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले जस्तै अनिवार्य रुपमा परिचय पत्र चेकजाँच गर्ने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै सशस्त्र द्वन्द्वको बेला बन्द रहेका छोटी भन्सार पुनः सञ्चालन गर्न, सीमामा एक्सरे र फेस रिडर मेसिन जडान गर्न पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष धामीले भन्सार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन पनि गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गरेका थिए । ज्ञापन पत्र बुझेपछि गृहमन्त्री श्रेष्ठले राजश्व चुहावट रोक्ने सवालमा गुणात्मक सुधार सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका थिए ।