उर्जा लागत घटाउन उद्योगलाई सौर्य उर्जाको प्रस्ताव

नेपालगन्ज : नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले उद्योगहरुलाई उर्जा लागतको खर्च जोगाउन सौर्य उर्जाको विकल्क अघि सारेको छ ।
केन्द्रले शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघसँग सहकार्यमा आयोजना गरेको नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सौर्य उर्जाको प्रवद्र्धन विषयक कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युत, जेनेरेटरबाट हुने उर्जाको खर्च घटाउन सौर्य उर्जा उपयुक्त हुने दाबी गरे ।

‘देशका विभिन्न स्थानमा सौर्य उर्जाको उपयोग हेर्दा ८० प्रतिशतसम्म खर्च कटौती भएको छ, उनले भने, ‘दिउँसो सौर्य उर्जाबाट उद्योग चलाउनुस् । रातिमा सुलभ शुल्कको विद्युतीय उर्जाको प्रयोग गर्न सके उर्जाको लागत घटाउन सकिन्छ ।’ उनले सौर्य उर्जा प्रयोग गर्दा केन्द्रले दिने अनुदान, छुट र सेवा सुविधाबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले विद्युतको लागत घटाउन र उद्योगको लागत घटाउन वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा उपयुक्त हुने बताए । अध्यक्ष धामीले उद्योगी व्यवसायीलाई वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग सहकार्य गर्न फोकल पर्सनको रुपमा संघका सदस्य राजीव तेलंगालाई घोषणा गरेका थिए । कार्यक्रममा केन्द्रका तर्फबाट डा. लक्ष्मणप्रसाद घिमिरे, इन्जिनियर सन्तोष राई, इन्जिनियर खेमराज भण्डारी, इन्जिनियर नीरज सापकोटा, विवेककान्त न्यौपानेले सौर्य उर्जाको प्रयोग, यसको फाइदाबारे जानकारी गराएका थिए । संघका महासचिव भीमबहादुर रानाभाटले सहजीकरण गरेको कार्यक्रममा बाँकेका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।