थपिने भयो बाँकेमा पाँच तारे होटल पौवा, भवनको शिलन्यास

नेपालगन्ज : हस्पिटालिटी क्षेत्र (होटल र रेष्टुरेन्ट)मा नेपाली ‘टिपिकल स्वाद’को पहिचान बनाएको पौवा ग्रुपले बाँकेमा पाँच तारे होटलको निर्माण सुरु गरेको छ । नेपालगन्ज सहर नजिकै पश्चिममा हुलाकी राजमार्गमा पर्ने खजुरा रोडको दक्षिणमा जानकी गाउँपालिका–३ मा बिहीबार होटल पौवा वेष्टर्नको शिलन्यास गरिएको हो ।

होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार नौतले भवनमा फरक–फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, एक हजार पाँच सय क्षमताका चार ठूला सभाहल, १४ वटा मिटिङ हल, सात वटा स्वीट रुमसहित ८० वटा डिलक्स कोठा, स्वीमिङ पुल, क्यासिनो, स्पालगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होे । ‘सुरुको एक वर्षभित्र रेष्टुरेन्टलगायतका काम सञ्चालन हुनेछन्’, अध्यक्ष भण्डारीले भने, ‘अर्को एक वर्षभित्र होटलका कोठाहरु निर्माण सम्पन्न गरी दुई वर्षभित्रै फाइभ स्टार होटल सञ्चालनमा आउनेछ ।’ दुई विघा दुई कठ्ठा क्षेत्रफलमा निर्माण हुने होटल पौवा वेस्टर्नले झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

०७५ सालदेखि नेपालगन्ज उपमहानगरपालिका–१९ मा ८१ कोठासहित एक अर्ब २५ लाख रुपैयाँको लगानीमा सोल्टी वेस्टेन्ड प्रिमियर र कोहलपुर नगरपालिका–४ मा ६० करोड लगानीमा ८० कोठाको होटल सेन्ट्रल प्लाजा पाँच तारे होटल सञ्चालमा छन् । बाँकेमा चार तारे होटलको भने आधा दर्जन बढी छन् ।