सातौँ प्रादेशिक महोत्सव नेपालगन्जमा सुरु

नेपालगन्ज : सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको वाटरपार्कमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ले मंगलबार महोत्सवको उद्घाटन गरेकी हुन् ।
आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा उक्त महोत्सव आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उप प्रमुख उमा थापा मगर, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रकाश सिंह, महासङ्घ नेपालगन्ज नगर समिति अध्यक्ष अध्यक्ष दिला शाहले लगायतले आर्थिक गतिविधि चलयमान गराउन यस्ता खाले महोत्सव कोषेढुङ्गा सावित हुने बताउँदै स्थानीय उत्पादन र पर्यटनको प्रर्वद्धनसंगै बजारीकरणमा उल्लेख्य सहयोग पुग्ने महोत्सवलाई सफलताको शुभकामना दिए ।
महासङ्घ बाँकेका महासचिव जीआर भुसालका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धी १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगर समितिको सह आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किे झाँकीसहितको -यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको थियो ।