बंगलादेशी दूतावासमा कला शिविर

काठमाडौं : बंगलादेशी राजदूतावास काठमाडौंमा कला शिविर आयोजना गरिएको छ ।
आर्ट बंगला फाउन्डेसन ढाका बंगलादेश र सिद्धार्थ आर्ट ग्यालरी काठमाडौंको सहकार्यमा सोमबार आयोजना गरिएको ‘फ्रोम माउन्टेन्सबाट डेल्टा’ विषयक एक दिने कला शिविरको नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्दिन नोमान चौधरीले उद्घाटन गरेका हुन् । राजदूत चौधरीले नेपाल र बंगलादेशबीच सामाजिक, सांस्कृतिक र सभ्यताको सम्बन्धमा गाँसिएको अनुपम सम्बन्ध रहेको बताउँदै हिमालदेखि समुन्द्रमा बग्ने खोला जस्तै प्राकृतिक सम्बन्ध रहेको बताए । उनले कला शिविर समकालीन बंगलादेशी र नेपाली कलाकारहरूको कलाकृतिहरू सिर्जना गर्न र दुई देशको संस्कृतिको समृद्धि झल्काउन अद्वितीय शैली, दृष्टिकोण र माध्यमहरू प्रदर्शन गर्न उत्कृष्ट मञ्च हुने विश्वास व्यक्त गरे । कला शिविरमा नेपाल र बंगलादेशका चर्चित कलाकारहरुको सहभागिता रहेको छ । बंगलादेशका कलाकारहरु प्रोफेसर इमेरिटस रफिकुन नबी, कलाकार मोनिरुल इस्लाम, प्रोफेसर मोहम्मद युनुस, कलाकार मुनिरुज्जमान मुनिर, कलाकार कनक चान्पा चक्मा र प्रा डा इकबाल अली रहेका छन् । नेपालबाट कलाकार किरण मानन्धर, कलाकार शशी शाह, कलाकार विजय थापा र कलाकार कृष्ण मानन्धरको सहभागिता रहेको छ ।