पत्रकार महासंघ बाँकेको १४औं अधिवेशनमा १४ बुँदे घोषणा पत्र जारी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको १४औं साधारणसभा तथा अधिवेशन १४ बुँदे घोषणा पत्र जारी गर्दै सौहार्दतापूर्ण रुपमा सम्पन्न भएको छ ।
शनिबार नेपालगन्जमा आयोजना गरिएको अधिवेशनमा महासंघका सचिव कमल डाँगीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विनोद पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै घोषणापत्र जारी गरेको हो । महासंघका राष्ट्रिय परिषद् सदस्य शंकरप्रसाद खनाल संयोजक, विमला चौधरी, अर्जुन ओली, मधु पौडेल र आलम खान सदस्य रहेको घोषणा पत्र तयारी समिति गठन गरिएको थियो ।

संयोजक खनालद्वारा प्रस्तुत घोषण पत्र हलले सामान्य संशोधनसहित पारित गरेको हो । महासंघ अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा सम्पन्न अधिवेशनको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । अधिवेशनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई केन्द्रीय प्रतिनिधिका रुपमा रहेका थिए । बरिष्ठ पत्रकार नीरज गौतम संयोजक, शिव डोटेल, रुद्र सुवेदी, तिलक गाउँले र प्रदीप वाग्ले सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

सदस्यता विवादका कारण दुई दुई पटक सारिएको अधिवेशनमा सभासद्हरुले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्नुपर्नेलगायतका माग राखेर सुरुमा विरोध गरेका थिए ।

यस्तो छ, घोषणा पत्र
१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तव्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्दछ ।
२. पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्दछ ।
३. साना लगानीमा सञ्चलन गरिएका महिला भाषाभाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछ । मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्दछ ।
४. स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्दछ ।
५. अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।
६. समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधरणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्दछ ।
७. श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ ।
८. आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गर्दछ ।
९. नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स(सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्दछ ।
१०. पत्रकारिता पेशवा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठि, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने ।
११. पत्रकारलाई निर्वाध रुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्दछ ।
१२. महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।
१३. बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गर्दछ ।
१४. नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारणसभामा प्रमुख अथिति नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, बिशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई बधाई सहित सहयोग गर्नुहुने सबै निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।