अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानद्वारा नेपालगन्जमा रक्तदान, कोहलपुरमा सर्वत वितरण

नेपालगन्ज : अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार नेपालगन्जमा ३० पिन्ट रगतदान गरिएको छ ।
जिल्लामा रगत अभाव भएको बेला प्रतिष्ठानको आयोजनामा ३० जना पुरुषले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक सुधीर गौतमले जानकारी दिए । कार्यक्रममा विभिन्न पेशा व्यवसायमा लागेका रक्तदाताले रक्तदान गरेका हुन् ।

चर्कोे गर्मीका बेला प्रतिष्ठानले मंगलबार नै बाँकेको कोहलपुरमा सर्बत बाँडेको थियो । गर्मीमा सितलताका लागि सर्बत (भेली पानी) वितरण गरिएको प्रतिष्ठानकी माला शर्माले बताइन् ।
१२ वैशाख २०७२ को महाभूकम्पमा काठमाडौंमा बसेको बसेको होटेल भत्किदा अच्युतराज सुवेदी च्यापिएर गम्भीर घाइते भएका थिए । उनको भारतमा उपचारको क्रममा मृत्यु भएको थियो । सुवेदीको निधनपछि उनको नाममा प्रतिष्ठान स्थापना गरेर हरेक वर्ष रक्तदान लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।