शिक्षण अस्पतालका कर्मचारीले व्यवस्थापनलाई बुझाए ४५ बुँदे मागको ज्ञापन पत्र

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा कार्यरत कर्मचारीहरुले व्यवस्थापनसँग सात विषयसँग सम्बन्धित झन्डै चार दर्जन मागहरु राखेर ज्ञापन पत्र बुझाएका छन् ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका केन्द्रीय सभापति तथा वार्ता कमिटी संयोजक रत्ना गिरी नेतृत्वको टोलीले मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बिएनलाई ४५ बुँदे ज्ञापन पत्र बुझाएकी हुन् ।
ज्ञापन पत्रको एक नम्बरमा तलब भत्तासम्बन्धी ११ बुँदा, दुई दरबन्दी सिर्जना, पद पूर्ति, पदोन्नती, स्थायी नियुक्ति सम्बन्धी ८ बुँदे, तीन अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याण कोष सम्बन्धी ४ बुँदे, चार स्वास्थ्य उपचार एवं सेवा सुविधा सम्बन्धी ४ बुँदे, पाँच हाजिरी र विदा सम्बन्धी ४ बुँदे, ६ अध्ययन एवं तालिम सम्बन्धी ४ बुँदे र सात संस्थागत सुधारसँग सम्बन्धी १० बुँदे मागहरु रहेका छन् ।

ज्ञापन पत्र बुझाउनु अघि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका अध्यक्ष रत्ना गिरी, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का र नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापाले पत्रकार सम्मेलन गरी आफ्ना मागबारे पत्रकारलाई जानकारी गराएका थिए ।
२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर, नर्सिङ क्याम्पस, मेडिकल कलेजलगायतका प्रतिष्ठानहरूमा एक हजार १२ कर्मचारी छन् । शिक्षण अस्पतालमा नयाँ व्यवस्थापन आएपछि कर्मचारीहरुलाई कडाइ गर्न थालिएको छ । विगतमा पनि आफ्ना मागबारे वार्ताको माध्यमबाट गरिएका सहमति र सम्झौता र श्रम ऐनमा भएका व्यवस्था पालना गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ । माग पूरा नभए कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।