विश्वासिलो सहकारीको आयोजनामा ७७ जनाद्वारा रक्तदान

नेपालगन्ज : बर्दियाको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था मढेलाको छैठौं बृहत रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

विश्वासिलोले गेरुवा गाउँपालिका २ र ३ वडा र नेपाल रेडक्रस सोसाइटी गेरुवा उपशाखाको सहकार्यमा गेरुवा ३ शान्तिबजारमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी, जनप्रतिनिधी, अटो चालक, व्यापारी गरी ६ जना महिला र ७१ पुरुषले रक्तदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दिया लारी रक्त संंचालन केन्द्र गुलरिया बर्दियाकेो प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज गेरुवा बर्दिया, इलाका प्रहरी कार्यालय पाताभार बर्दियाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी सहायक हवल्दार वीरेन्द्रबहादुर बुढाले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।