जनता सन्तकुटीका पूर्वविद्यार्थीले देउसी खेलेर दिए स्कुललाई एक लाख

नेपालगन्ज : खजुरा गाउँपालिका बाँकेको जनता सन्तकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले देउसी खेलेर संकलन गरेको एक लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
जनता माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केरसिंह थापालाई शुक्रबार एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सो रकम विद्यालयमा पूर्वविद्यार्थी समाजले निर्माण गरेको स्वर्ण स्तम्भ क्षेत्रको सौन्दर्यकरणमा खर्च गर्ने प्रयोजनका लागि हस्तान्तरण गरेको शर्माले जानकारी दिए ।
खजुरा गाउँपालिकाको वडा नंं. ३ मा २०२९ सालमा स्थापना गरिएको जनता सन्तकुटी माविका पूर्वविद्यार्थीहरुकोे ८ असोज २०७९ मा सम्पन्न भेलाले झविलाल शर्माको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । समाजको २७ फागुन २०७९ मा सम्पन्न पहिलो अधिवेशनले पुनः शर्माकै नेतृत्वमा १३ सदस्यीय कार्य समितिलाई तीन वर्षका लागि सर्वसम्मत् रुपमा निर्वाचित गरेको थियो ।
समाजले यसअघि २१ माघ २०७९ मा विद्यालयमा स्वास्थ्य शिविर आयोेजना गरी ५१० जनाको स्वास्थ्योपचार गरेका थिए । समाजले विद्यालय परिसरमा वृक्षारोपण, रक्तदान, आँखा र कान परीक्षण, सरसफाइ समाग्री हस्तान्तरण, पूर्वप्रधानाध्यापकहरुलाई सम्मान, पढाइ र खेल क्षेत्रको उत्कृष्ट विद्यार्थीलाई सम्मान, विद्यालयबाट पहिलो एसएलसी उत्तीर्ण विद्यार्थीलाई सम्मान, स्वर्ण स्तम्भ निर्माण, समाजको लागि कार्यालय निर्माण, दशैं, तिहार र तीज पर्वलाई उत्सवका रुपमा मनाउने काम गरेको अध्यक्ष शर्माले जानकारी दिए । समाजले विद्यार्थी उत्प्रेरणा कार्यक्रम भने श्रृङ्खलाबद्ध रुपमा गर्दै आएको छ ।