चरेससहित बाँके बेलभारका युवा भारतमा पक्राउ
रमेशकुमार यादव । नेपालगन्ज
बाँकेको जानकी गाउँपालिकाका एक युवा भारतमा लागू औैषध चरेसहित पक्राउ परेका छन् ।
जानकी–५ बेलभारका २६ वर्षका ज्ञानमान हरिजनलाई ५.९७८ किलोग्राम चरेसहित भारतीय सीमा नाकामै पक्राउ गरेको बहराइचका अधिवक्ता हित सर्वोपरिले जानकारी दिए ।
गत आइतबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)का उप कमाण्डेट दिलिप कुमारलाई चरेससहित एक ब्यक्ति बाबागन्ज गइरहेको गोप्य सूचना प्राप्त भएपछि कमाण्डेट दिलिप, कार्यवाहक कमान्डेट राज रञ्जन नेतृत्वको टोलीले उत्तर प्रहरीको विशेष सुरक्षा गस्तीसँग मिलेर दिउँसो ३:१५ बजे नेपाल भारत सीमा स्तम्भ ६५१/०५ नजिकबाट हरिजनलाई मोटरसाइकलसहित पक्राउ गरेका हुन् । हरिजनले बोकेको प्लाष्टिकको थैलीमा खरानी रंगको टेप टाँसेर चरेस बरामद गरिएको थियो । हरिजन भारतमा पक्राउ परेको कुरा परिवारलाई भने थाहा थिएन । मेरोखुसीले जानकी गाउँपालिका ५ का वडाध्यक्ष टीकानाथ यादवसँग हरिजनबारे जानकारी मागेपछि मात्र उनी भारतमा लागू औषधिसहित पक्राउ परेको पुष्टि भएको हो । हरिजनबारे बहराइच प्रहरीले थप अनुसन्धान गरिरहेको अधिवक्ता सर्वोपरिले बताए ।








