कर्णाली बैंकद्वारा ८ सय जनाको झन्डै २ करोड निक्षेप फिर्ता
शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बुधबारदेखि निक्षेप फिर्ता सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका सदस्य विष्णुपुकार विश्वकर्माका अनुसार बुधबार बैंकले झन्डै दुई करोड रुपैयाँ निक्षेप फिर्ता दिएको हो । बैंकका १९ शाखामध्ये १६ वटा शाखा मार्फतप्रति ब्यक्ति बढीमा २५ हजार रुपैयाँका दरले एउटा शाखामा ५० जनाका दरले रकम फिर्ता गरिएको विश्वकर्माले बताए । सबै शाखामा गरी ८ सय जना भन्दा बढीले निक्षेप फिर्ता पाए । बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता हुनेछ । निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, बृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपैैयाँका दरले ५० जनाका दरले निक्षेप भुक्तानी गर्ने उल्लेख थियो । निक्षेप फिर्ताको समय बिहान ११ बजे तोकिएको थियो । सूचनामा भनिएको थियो, ‘संस्थामा तरलता व्यवस्थापन हुँदै जाने आधारमा निक्षेप भुुक्तानी कार्य क्रमशः बृद्धि गर्दै लगिनेछ ।’
नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली बैंकमा दिनहुुँ निक्षेपकर्ताको भीँड लागिरहेकोे छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ । ‘रकम गडबड भएकै हो । बढीमा एक हप्ताभित्र समूहले छानबिन गरिसक्नेछ’, विश्वकर्माले प्रष्ट पारे ।