गोरखाको खेलकुद सप्ताहमा शिक्षक पनि खेल प्रतिष्पर्धी !
नेपालगन्ज : विद्यालयको खेल सप्ताह भन्ने बित्तिकै विद्यार्थी–विद्यार्थीबीचको प्रतिष्पर्धा भन्ने ठान्नु भएको छ भने तपाई गलत ठहरिनु हुन्छ ।
बाँकेको कोेहलपुर नगरपालिकामा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलले खेल सप्ताहमा शिक्षक र कर्मचारीलाई पनि खेल प्रतिष्पर्धामा उर्ताछ अनि विजेतालाई पुरस्कृत गर्छ । यस्तो पुरस्कारको खर्च विद्यालयले व्यहोर्दैन । विद्यालयका सञ्चालकले छुट्टै कोष बनाएर त्यही रकमबाट प्रतियोगिता आयोजना गर्दै आएका छन् । यो विद्यालयले यसरी रातो, पहेलो, हरियो र निलो सदनका छात्र–छात्र, छात्रा–छात्रा अनि शिक्षक–कर्मचारीबीच खेल प्रतिष्पर्धा गर्न थालेको यो १३औं संस्करण हो । विद्यालयले मिनी रनिङ शिल्डको रुपमा फाउण्डर कप फुटबल प्रतियोगिता गर्दै आएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आलेले फुटबल हस्तान्तरण गरी आइतबार खेल सप्ताहको शुभारम्भ गरे । प्रतियोगिता आगामी २६ पुुससम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आलेले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञान मात्र नदिएर उनीहरूभित्र रहेको प्रतिभालाई खेलको माध्यमबाट चौतर्फी विकास गर्न खेल सप्ताह आयोजना गरिएको बताए ।
पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रातो सदनलाई पहेलोे सदनले १–२ अन्तरले पराजित गरेको थियो । पहेलो सदनका तर्फबाट सम्राट विसी र समीर रिजालले गोल गरेका थिए भने रातो सदनका कपिल हितानले एक गोल गरेको विद्यालयका खेल संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।
विद्यालयका संस्थापकले २०६८ सालदेखि आफ्नो छुटै कोष स्थापना गरेर खेल सप्ताहमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएका छन् । खेल सप्ताहमा विद्यालयका छात्रछात्राबीच अन्तर सद्नात्मक फुटबल र एथलेटिक्सका साथै शिक्षक कर्मचारीबीच प्रतिस्पधात्मक खेल हुन्छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, दोश्रोलाई ११ हजार र संस्थापक शिक्षक तथा कर्मचारीबीच हुने खेलका विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था छ । त्यसैगरी महिला शिक्षिक–कर्मचारीबीचको भलिबल प्रतियोगिताको विजेताले ३ हजार नगद पुरस्कार पाउनेछन् ।