मुख्यमन्त्री कोहलपुर गोल्डकप : प्लानिङ व्वाइज पनि सेमिफाइनलमा

कोहलपुर : बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौँ पनि सेमिफाइनलमा पुगेको छ ।
यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुरको तेह्र विगाह खेल मैदानमा भएको खेलमा राइनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तर पराजित गर्दै प्लानिङ व्वाइज विजयी भएको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै टोलीले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन् । दोस्रो हाफमा प्लानिङ व्वाइज विपक्षी राइनो फुटबल क्लबमाथि हावी भएको थियो ।
दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाइज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले अर्को गोल गरेर सहज जित दिलाए ।
खेलमा प्लानिङ व्वाइज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बरबहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणि धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच संयुक्त रुपमा प्रदान गरेका थिए । प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब,सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए । क्वाटर फाइनल समीकरण सकिएसँगै बुधबारदेखि सेमी फाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए ।