आयोजक रेसिङ साहारा क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकप फाइनलमा

कोहलपुर : आयोजक रेसिङ साहारा क्लब कोहलपुर मुख्यमन्त्री कोहलपुर गोल्डकप फाइनलमा पुगेको छ ।
बुधबार प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाइजका ओमप्रकाश चौधरीले गोल फर्काएर खेल बराबरी गरेका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो । खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदीले नगद्सहित ट्रफी हस्तान्त्रण गरेका थिए ।