मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आयोजक रेसिङ साहारासँग राइजिङ स्टारको फाइनल भिडन्त हुने
कोहलपुर : मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लब र राइजिङ स्टारबीच फाइनल भिडन्त हुने भएको छ ।
राइजिङ स्टार फुटबल क्लब नवलपरासीले बिहीबार काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेर फाइनलमा प्रवेश गरेपछि बुधबार फाइनलमा गएको रेसिङ साहारासँग उपाधिका लागि आगामी २४ फागुनमा स्पर्धा हुनेछ ।
अन्तिम सेमिफाइनल खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहारका धनसिंह विकले गोल फर्काएर खेल बराबरीमा रोकेपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो ।
अन्तिम सेमिफाइनल खेलमा म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।