लुम्बिनी कपमा महिला फुटबलका विजेतालाई ५ लाख ५ हजार रुपैयाँको पुरस्कार
नेपालगन्ज : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार रुपैयाँको पुरस्कार पाउने भएको छ ।
आयोजक अन्तराल नेपालगन्जले बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने शाहले बताए ।
प्रतियोगितामा नेपालका तीन विभागीय टिम (त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब), भारतको सिलगुडी फुटबल क्लब कर्णाली एफसी, सुदूर पश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ टिम र आयोजक बाँके ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगन्ज रंगशालामा आगामी वैशाख ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको व्यवस्था गरिएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए । प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य प्रदेशसिंह राठौर, अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोबद्र्धनसिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।