एकैदिन कैलालीमा लागूऔषधसहित १२ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाबाट मंंगलबार प्रहरीले लागूऔषध ब्राउन सुगरसहित १२ जनालाई पक्राउ गरेको छ ।
घोडाघोडी नगरपालिका १ सुखडस्थित गौरभ आचार्यको घरमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार इलाका प्रहरी कार्यालय सुखडबाट गएको प्रहरी टोलीले सोही नगरपालिकाको १ बस्ने वर्ष २५ को गौरभ आचार्य, वर्ष ३४ को सुरेन्द्र श्रेष्ठ र वर्ष २२ को भीम बोहरालाई खान तलासी गर्दा निजहरुको साथबाट ३ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको थियो ।

त्यसैगरी टीकापुर नगरपालिकाको वडा नं. ९ खक्रौला चेक पोष्ट नजिक इप्रका टीकापुरबाट गएको प्रहरी टोलीले टीकापुर १ एकतानगर शिविर बस्ने वर्ष १८ को सन्तोष विक र वर्ष २३ की बन्दना विकलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर फेला पारी बरामद गरी निज दुबै जनालाई पक्राउ गरिएको छ । त्यस्तै धनगढी उपमहानगरपालिकास्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिकबाट जिप्रकाको अपराध अनुसन्धान समूहबाट गएको प्रहरी टोलीले धनगढी ६ बस्ने वर्ष २२ को विवेक राना, वर्ष १८ को आकाश राना, वर्ष २२ को भीम सुनार, वर्ष २६ को दिनेश बोहरा र वर्ष २५ को विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर फेला पारी निजहरुलाई पक्राउ गरेको छ ।

कैलाली धनगढी उपमहानगरपालिका १९ ललिपुरघाटस्थित इप्रका बहुलिया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट गएको संयुक्त प्रहरी टोलीले धनगढी १२ बस्ने वर्ष २८ को रोहित बोगटी र वर्ष २२ को लोकेन्द्र खड्कालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ७२ ट्याब्लेट प्रतिबन्धित औषधि गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र ७२ ट्याब्लेट प्रतिबन्धित औषधि फेलापारी बरामद गरी निजहरु १२ जनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।