होटल सिद्धार्थको न्यु एयर इभमा छेवाङ एन्ड द क्रेटर्स ब्यान्डको सांंगितिक प्रस्तुती हुँदै
नेपालगन्ज : नेपालगन्जको चार तारे होटल सिद्धार्थले नयाँ वर्ष २०८२ को स्वागतमा चर्चित ब्यान्ड छेवाङ एन्ड द क्रेटर्सको साथमा सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
होटलले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा होटलका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले नयाँ वर्षको पूर्वसन्ध्याको छेवाङ ब्यान्डको धमाकेदार सांगितिक शो हुन लागेको जानकारी दिए । उनका अनुसार यो ब्यान्डले पश्चिम नेपालको सांगितिक इतिहासमा पहिलो पटक सांगितिक कार्यक्रममा सहभागी हुन लागेको हो । छेवाङ ब्यान्डका ‘इसाराले बोलाउनु पर्दैन’, ‘जाउँ हिँड कान्छी’, ‘कस्तो माया तिमीसँगै बस्यो’, ‘आउँदै छु हेर तिमीलाई लिन’ , ‘जाउँ हिँड माया काठमाडौँ सहर’ , ‘मेरो संसार तिमी मेरो जिउने आधार तिमी’, जस्ता दर्जनौँ गीतहरू हिट छन् ।
कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टका अनुसार सांगितिक कार्यक्रमको सुरुवात भने द समय ब्यान्ड’ ले गर्नेछ । यसैगरी, स्थानीय कलाकारले नृत्य प्रस्तुति गर्नेछन् । कार्यक्रमको अन्त्यतिर, नेपालको चर्चित महिला डीजे पिजाको २ घण्टा लामो नन स्टप डिजे सेसन हुनेछ।
आइतबार साँझ ६ बजेदेखि मध्यरातिको १२ बजेसम्म लगातार ६ घण्टा सांगितिक कार्यक्रम गरेर नयाँ वर्ष २०८२ लाई स्वागत गरिने होटलका जनरल म्यानेजर बद्री कोइराला बताउँछन् । होटल सिद्धार्थले हरेक वर्ष अंग्रेजी र नेपाली नयाँ वर्षमा सांगितिक कार्यक्रम गर्दै आएको छ ।