लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब फाइनलमा
नेपालगन्ज : विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा मंगलबार सम्पन्न खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हापको २९ औ मिनेटमा मीना देउवाले गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन । पहिलो हाप सकिंदासम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८० औ मिनेटमा आर्मीका तुलसा बोहोराले गोल फर्काइन र खेल बराबरीमा पुग्यो । दुबै टिम रक्षात्मक रहँदा खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके । यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।
खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् । गोलकिपर उषालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, चार नम्बर बाहिनीपति सहायक रथी बिक्रम राणा र के आइइसी नेपालगन्ज प्रमुख शुभास थापाले संयुक्त रुपमा नगद रु ५ हजार प्रदान गरेका थिए ।
आर्मीका क्याप्टेन सुनिता चौधरीले खेलाडीहरुले राम्रो प्रस्तुती दिएको भए पनि सोचेअनुरुप खेल हुन नसकेको बताइन ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।