उपभोक्तालाई आत्मनिर्भर बनाउँदै सत्ती कर्णाली सामुदायिक वन
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती कर्णाली सामुदायिक वनले उपभोक्तालाई आयमूलक काम गरेर आत्मनिर्भर बनाउन सीप सिकाउन थालेको छ ।
टीकापुर नगरपालिका ७ सत्तीमा रहेको सामुदायिक वन नेपालमै सबैभन्दा धेरै बेतबाँसकोे कारोबार गर्ने वनका रुपमा परिचित छ ।
सामुदायिक वनले विभिन्न गैरसरकारी संघसंस्थासँगको समन्वयमा होस् वा आफ्नै स्रोतले होस् उपभोक्ताको व्यावसायिक क्षमता विकास आत्मनिर्भर बनाउने काम गर्दै आएको वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी बताउँछन् ।
खासगरी बेत बाँसका कारण निकै प्रख्यात सामुदायिक वनको प्रमुख स्रोत पनि त्यहीँ बेत हो । वनले बर्सेनि लाखौंको बेत बाँस बिक्रि मात्रै गर्दैन, आफ्ना उपभोक्तालाई बेत बाँसका सामग्री निर्माणका लागि तालिम सञ्चालन गरेर दक्ष रुप आत्मनिर्भर बनाइ आयमुलक काम गर्न सक्ने बनाउनमा जोड दिँदै आएको अध्यक्ष चौधरीले प्रष्ट पारे । न्यून आयश्रोत भएका आफ्ना उपभोक्तालाई बाख्रा पालनका लागि समेत लगानी गर्दै आइरहेको उनले बताए ।
गत ३ वैशाखबाट वनले ३३ जनालाई बेत बाँसका फर्निचर बनाउने तालिम दिइरहेको छ । जेठ १३ गतेसम्म सञ्चालन हुने उक्त आफ्नै क्षेत्रको स्रोत साधनलाई सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिने विश्वास गरिएको छ ।
उनका अनुसार सीप सिकेको व्यक्ति सहजै व्यवसायसँग जोडिन सक्नेछ भने रोजगारीका लागि पनि अवसर छ । तालिम सकिएपछि सोही क्षेत्रमा रहेको तिलगंगा बेत बाँस फर्निचर उद्योगले जति पनि जनशक्ति खपत गर्न सक्ने बताउँदै आएको छ । अध्यक्ष चौधरीले भने, “अहिलेसम्म सयौंले तालिम लिइसकेका छन् भने त्यसमध्ये केही रोजगारीमा पनि जोडिएका छन् ।”
बजारमा बेत बाँसमा फर्निचरहरुको माग निकै छ । माग अनुसार उत्पादन गर्न सकिएको छैन । उसो त बेत बाँसको फर्निचर बनाउने तालिम स्थानीय सरकारले पनि सञ्चालन गर्दै आएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाभित्रका कार्यालयमा बेत बाँसको फर्निचर प्रयोग गर्ने भने अनुरुप आफ्नो कार्यकक्षमा कार्यान्वयन सुुरु गरेका छन् भने टीकापुर नगरपालिका वडा नं ७ मा पनि वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले पनि आफ्नो कक्षमा बेत बासका फर्निचर प्रयोगमा ल्याएका छन् ।