तेस्रो वेष्टर्न ट्राभल मार्टको आकर्षण त्रिभुवनचोक स्ट्रिट फुडलेन

नेपालगन्ज : वेष्टर्न ट्राभल मार्ट तेस्रो संस्करणको आकर्षण त्रिभुवनचोक स्ट्रिट फुडलेन हुने भएको छ ।
मार्ट मूल आयोजक समितिले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रीराम सिग्देलले मार्टको मुख्य आकर्षण नेपालगन्जमा स्ट्रिट फुडलेन रहने बताए । जहाँ जिल्लाका रैथाने परिकारको स्वाद लिन पाइनेछ ।

वेष्टर्न ट्राभल मार्ट दोस्रो संस्करणको आकर्षणको रुपमा शक्तिपीठ बागेश्वरीमा सुरु गरिएको महाआरती १२३औं श्रृङ्खला पूरा गरिसकेको छ । नाट्टा बाँकेका अध्यक्ष समेत रहेका संयोजक सिग्देल स्ट्रिट फुडलेन नमुनाको रुपमा सुरु गरेर निरन्तरता दिन सरोकारवालाहरुलाई दवाब दिने बताउँछन् ।
यही २४, २५ र २६ जेठसम्म सञ्चालन हुने मार्टमा विगतमा जस्तै नेपाली र भारतीय पर्यटन व्यवसायी र टुर अपरटरबीच बीटुबी सेसन, पर्यटन क्षेत्रका नविनतम्् प्रवृत्ति, चुनौती र अवसरबारे टेक्निकल सेसन, बाँके र बर्दिया निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्याफ्टिङ, स्टार होटल र क्यासिनो भिजिटका कार्यक्रम रहेका छन् ।

पत्रकार सम्मेलनमा नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्यूत गुरागाई र नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले मार्टको सफलताको कामना गरेका थिए ।