राष्ट्रिय फोटो स्पर्धाका ३१ फोटो पिपुल्स च्वाइस अवार्डका लागि चयन

नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवलको अवसरमा आह्वान गरिएको राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट शीर्ष ३१ फोटो पिपुल्स च्वाइस अवार्डका लागि चयन भएका छन् ।
फेस्टिवल आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार शीर्ष ३१ मा अम्वीर तोलाङ, बबी साई, तील थापा मगर , शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु, आर्यन धिमाल, विजय थापा, तिलक गाहा मगर, भुवन श्रेष्ठ, दिलचन पुन, हिमाल गैरे,जीवन लामा, केशव न्यौपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल, शंकर भुजेल, मैत्या घर्ती मगर र विनय रावलको फोटोहरु चयन भएका हुन् ।

ई–सेवासँगको सहकार्यमा सोमबारदेखि अनलाइन भोटिङ खुला गरिएको छ । सबैभन्दा बढी भोट प्राप्त गर्ने फोटोले पिपुल्स च्वाइस अवार्ड जित्नेछ । विजेतालाई ५० हजार १११ रुपैयाँ नगद र प्रमाणपत्रसहित अवार्ड प्रदान गरिने शाहले बताए । फोटो प्रतिस्पर्धामा देशभरवाट फोटोहरु सहभागी गराइएको थियो ।
फोटो पत्रकार विकास कार्की संयोजक, बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक समितिले १११ फोटो छनौट गरिसकेको छ । ९ वटा विधाको उत्कृष्टले नगद ५ हजारसहित प्रमाण पत्र पाउने छन् । सर्वोत्कृष्ट फोटोले फोटो अफ द इएर अवार्डसँगै ५१ हजार १११ रुपैयाँ नगद सहित अवार्ड प्रदान गरिने शाहले जानकारी दिए । यसै महिनाको अन्तिम साता नेपालगन्जमा आयोजना गरिने फेस्टिवलमा यी फोटोहरु प्रदर्शनीमा राखिनेछ । त्यसपछि काठमाडौंको नेपाल आर्ट ग्यालरीमा २ दिने प्रदर्शनीबाट फोटो टुरको शुभारम्भ हुनेछ । यस पटक देशका सात वटै प्रदेशमा नेपाल फोटो टुर हुनेछ ।