गृह जिल्लामा करण र अञ्जलीको एलिनासँग बेजोड प्रस्तुति
संजय आचार्य । गुलरिया
चर्चित गायक करण परियार र डान्सर/मोडल अञ्जली अधिकारीले गृह जिल्ला बर्दियाको सांगितिक कार्यक्रममा बेजोड प्रस्तुती दिएका छन् ।
नेपाल आइडल सिजन ५ का विजेता गायक परियार बारबर्दिया नगरपालिका वडा नं.४, पदनाहाका बासिन्दा हुन् भने गलबन्दी, बोल माया, अरेली काँडैले मलाई लगायतका चर्चित गीतकी डान्सर/मोडल अधिकारीको घर बढैयाताल गाउँपालिकामा पर्छ ।
बर्दिया युथ ब्ल्याकबक क्लब, गुलरियाको आयोजनामा आइतबार गुलरियाको राधाकृष्ण चोकमा आयोजना बडादशैंं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको ‘बृहत् सांस्कृतिक कार्यक्रम २०८३’ मा परियारको गीत र अधिकारीको नृत्य प्रस्तुतिले दर्शकको मन जितेको थियो । परियारका गीतमा दर्शक झुमेका थिए भने उनको सांगीतिक प्रस्तुतिले गुलरिया बजार नै गुञ्जायमान र रौनकता थपेको थियो।
मोडेल तथा डान्सर अञ्जली अधिकारीको नृत्यले पनि दर्शकलाई आकर्षित गरेको थियो। उनको आकर्षक नृत्य प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। यसका साथै डान्स ग्रुप अफ नेपालगञ्ज, भैरहवा र स्थानीय कलाकारले साथ दिएका थिए ।
चाडपर्वको खुसीयाली साटासाट गर्ने, स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चर्चित गायिका एलिना चौहानको प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। उनको लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ प्रस्तुत हुँदा कार्यक्रमस्थलको माहोल निकै तातिएको थियो। गीतमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको उद्घोषण रोजिना अधिकारी र सन्दीप सिंह स्वारले गरेका थिए। कार्यक्रम राति अबेरसम्म सञ्चालन भएको थियो।










