बाँकेका उद्योगी व्यवसायीद्वारा दशैंको शुभकामना दिँदै समस्या समाधान गर्न ध्यानाकर्षण

नेपालगन्ज : बाँकेका उद्योगी व्यवसायीले दशैंको शुभकामना दिँदै प्रहरी, प्रशासन र कर प्रशासनलाई समस्या समाधान गर्न ध्यानाकर्षण गरेका छन्
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले दशैंको अवसरमा बिहीबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले उद्योगी व्यवसायीका समस्या समाधानका लागि ध्यानाकर्षण गर्नु भएको हो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरु टंकप्रसाद शर्मा, रचना श्रेष्ठ, भोजराज तिमिल्सैना, सफिक बागवान (बीबी साइकल), दीपेन्द्रकुमार जोशी, पुण्यप्रसाद गौतमलगायतले उद्योगी व्यवसायीले झेल्नु परेका समस्याबारे प्रहरी, प्रशासन, कर प्रशासन, स्थानीय सरकारबाट पाइरहेको सास्ती र समस्या समाधानका लागि जिज्ञासा राख्नु भएको थियो ।

सो अवसरमा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जर्नादन पौडेल, आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, वाणिज्य कार्यालय बाँकेका प्रमुख सुरेन्द्र सिंह, घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख मोहन घर्तिमगरले उद्योगी व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाका विषयमा जानकारी गराउनु भएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कमलकुमार कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भन्सार र आन्तरिक राजस्व प्रमुखलाई विदाइ सम्मान
नेपालगन्ज उद्योग वाणिज्य संघले भन्सार र राजस्वका कार्यालय प्रमुखलाई विदाइ सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर र संघका अध्यक्ष चिरञ्जीवी ओलीले नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्य र आन्तरिक राजस्व कार्यालय प्रमुख पूर्णप्रसाद न्यौपानेलाई उत्कृष्ट सेवा गर्नु भएको भन्दै विदाइ सम्मान गर्नु भएको हो ।

पौडेल र न्यौपानेको काठमाडौंमा सरुवा भएको छ । सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरका नायव उपरीक्षक मणिन्द्रबहादुर शाहीलाई भने स्वागत गरिएको हो ।