जब स्प्रिङ डेलका विद्यार्थी ‘पोजेटिभ भाइब्रेन्ट’ कार्यक्रममा रुन थाले…

नेपालगन्ज : सबै विद्यार्थीका आँखा बन्द थिए । ‘त्यस्तो दिन सम्झनुस्, जुन दिनले तपाईलाई खुसी बनाएको छैन । या रुवाएको छ । निराश बनाएको छ’, मधुरो म्यूजिकको धुनमा पृष्ठभूमिमा सकारात्मक सोचका अभियन्ता प्रितम पौडेल बोलिरहेका थिए, ‘बाबाआमाले तपाईलाई कति धेरै माया गर्नुहुन्छ ? तपाईलाई कति दुःख गरेर हुर्काउनु भयो । पढाउनु भयो । बढाउनु भयो । तपाईका लागि सर्तरहित, स्वार्थरहित काम गर्नुभयो । के तपाईले बाबाआमाले भनेको मान्नुभयो । पढ भन्दा पढ्नु भयो ? आज आफूले गरेको सबै गल्तीलाई स्वीकार्नुस् । प्रायश्चित गर्नुस् । केही नलुकाउनुस् । मन हल्का बनाउनुस् । भावनालाई दबाएर नराख्नुस् । ब्यक्त गर्नुस् ।’
पौडेलका यी अभिव्यक्तिसँगै विद्यार्थीको मुहार मलिन भयो । गम्भीर ध्यानमग्न देखिए । ‘अधिकांश विद्यार्थी भावुक बने । धेरैका आँखा रसाए । कोही सुक्कसुक्क रुन थाले । मास्क आँसुले रुझ्यो’, नेपालगन्जको मेरो प्लानेट फनपार्कको ठूलो हलमा आयोजना गरेको ‘रिप्रोग्राम युअर माइण्ड, रिडिजाइन युअर लाइफ’ विषय ‘पोजेटिभ भाइब्रेन्ट’ कार्यक्रमको मोबाइलबाट भिडियो खिचिरहेका गणित विषयका शिक्षक एसपाल पौडेले अनुभव सुनाए, ‘अधिकांश विद्यार्थी भावुक थिए । २५ प्रतिशत विद्यार्थी र ५० प्रतिशत शिक्षक रोइरहेका थिए ।’
कोरोनाको तेस्रो लहरको खतरा बढेर शिक्षण संस्था बन्द हुने हल्ला चलिरहेको बेला विद्यालयले निःशुल्क रुपमा फनपार्क घुमाउने र त्यही दिउँसो खाजा पनि खुवाउने कुराले विद्यार्थी खुसी देखिन्थे । आधा भन्दा बढी विद्यार्थीले त नाम सुने पनि पहिलो पटक मेरो प्लानेट फनपार्क हेर्ने अवसर पाएका थिए । यो अवसर सदुपयोग गर्न कक्षा कोठामा अनुपस्थित हुने विद्यार्थीले पनि कार्यक्रममा हाजिर लगाएका थिए । नेपालगन्जको स्प्रिङ डेल एकेडेमीले कक्षा ६ देखि १२ कक्षाका विद्यार्थीलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिन फनपार्कमा लगेको थियो । ‘रिप्रोग्राम युअर माइण्ड, रिडिजाइन युअर लाइफ’ विषयक मोटिभेसनल कार्यक्रममा काठमाडौंबाट मोटिभेसनल स्पिकर तथा सकारात्मक सोच अभियन्ता प्रितम पौडेललाई डाकेको थियो । पौडेलले सकारात्मक सोचले विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी बनाएर भविष्यको लक्ष्य निर्धारणबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक पौडेलले हुन्न र सकिन्न भन्ने सोचाइलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई आत्मसात गर्न विद्यार्थीलाई उत्प्रेरित गर्र्नुभयो । ‘हाम्रो दिमाखमा नकारात्मकताको प्रवाह मात्र छ । धेरै विद्यार्थीमा सकारात्मक बानी कम छन् । जिम्मेवार विद्यार्थी कम छन् । आफ्नो काम आफै गर्दैनन् । मेरो जीवन बनाउने काम मेरो जिम्मेवारी हो । अहिले मैले जे गरिरहेको छु । यसले नै मेरो भविष्य निर्धारण गर्छ भनेर बुझ्ने विद्यार्थीको संख्या निकै कम छ’, उहाँको जोड थियो, ‘विद्यार्थीकोे राम्रो बानीले राम्रो जीवन बन्छ । विद्यार्थी जीवनदेखि नै लक्ष्य निर्धारण गर्न सकेमा भविष्यमा सुन्दर बन्नसक्छ ।’
अनलाइन कक्षापछि विद्यार्थी मोबाइल, ल्यापटप जस्ता ग्याजेटमा बढी समय बिताइरहेका छन् । विद्यार्थीका लागि मोबाइल लगायतका डिभिजटल डिभाइसको सही सदुपयोग गर्न र यसको कुलतबाट जोगिनुपर्ने भन्दै यसको लाभ र हानीबारे उहाँको सुुझाव थियो, ‘दैनिक औसत ३० मिनेटदेखि ४५ मिनेट भन्दा बढी गर्दा डिजिटल डिभाइस प्रयोग गर्नु विद्यार्थीका लागि हानिकारक भएको विभिन्न अध्ययनले देखाएको छ ।’ विद्यार्थीले कसरी लक्ष्य निर्धारण गर्नेबारे उहाँको भनाइ थियो, ‘हाइस्कुलदेखि नै लक्ष्य निर्धारण नहुँदा पढेर पनि विद्यार्थी हराउँछन् । रियल इनर्जी उसको लक्ष्यले दिन्छ । जसले स्पष्ट लक्ष्य निर्धारण गर्छ । ऊ गन्तव्यमा सहजै पुग्छ । जीवनमा हौसला र सफलता नै उसको लक्ष्यले गर्छ ।’ विगतमा अभिभावकको लक्ष्य र विद्यार्थीको लक्ष्य बाझिने हुँदा समस्या थियो । अहिले अभिभावकले सन्तानको लक्ष्य अनुसार अघि बढ्न दिन्छन् । सही लक्ष्य निर्धारण नगरेका कारण विद्यार्थी बरालिएको भन्दै उहाँको चिन्ता व्यक्त गर्नुभयो । ‘स्कुलमा पढेको बाहेक धेरै विद्यार्थीलाई घरमा पढ्ने बानी छैन । धेरैले पढेको कुरा दोहोराउँदैनन् । कोर्ष बुक मात्र पढ्छन्’, प्रशिक्षक पौडेलले स्मरण शक्ति बढाउने तरिका सिकाउँदै भन्नुभयो, ‘नियमित रुटिन बनाएर पढ्नुस् । अनलाइन गेम र सोसल मिडियामा कम समय दिनुस् । बरु पव्लिक स्पिकिंग र पावर प्वाइन्ट प्रस्तुतीकरण गर्ने जस्ता रचनात्मक क्रियाकलापमा व्यवस्थित रुपमा जोड्नुस् । लक्ष्यमा सहजै पुग्न सकिन्छ । अन्यथा दैनिक जीवन व्यवस्थित नहुँदा कुलतमा जाने, डिप्रेसनमा जाने र खराब संगतमा जाने हुनसक्छ ।’ पौडेलले माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर सकारात्मक सोचबारे काठमाडौं लगायत देशका ४५ भन्दा बढी जिल्लामा प्रशिक्षण दिइसक्नु भएको छ । हरेक वर्ष सरदर १५ हजार भन्दा बढी विद्यार्थी र १० हजार भन्दा बढी अभिभावक समक्ष कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुुभयो । ‘सकारात्मक सोचको प्रशिक्षणमा भएका विद्यार्थी आफ्नो जीवन आफै व्यवस्थित गर्छन् । पढाइमा सुधार आएको छ । पढ्ने बानीको विकास भएको छ’, पौडेलले दाबी थियो ।
सकारात्मक सोचबारे विद्यार्थीका लागि कार्यक्रम आयोजना गर्ने स्प्रिङ डेल एकेडेमी नेपालगन्जको पहिलो विद्यालय हो । २०६४ सालमा स्थापना भएको स्प्रिङ डेलमा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीको अध्ययन हुन्छ । सोमबार कक्षा ६ देखि १२ कक्षासम्मका २८० जना विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्राचार्य शरदचन्द्र रावल भन्छन्, ‘हाम्रो विद्यालय बालमैत्री छ । हामी विद्यार्थीलाई आदेश होइन, हौसला दिन्छौं । विद्यार्थीलाई आज्ञाकारी भन्दा जिम्मेवार बन्न प्रेरित गर्छौ । पाठ्यपुस्तककोे ज्ञान, सीप र व्यवहार तीनै पक्षलाई जोड दिएर जीवनोपयोगी शिक्षा दिन्छौं ।’ विद्यालयले विद्यार्थीलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने मात्र होइन बेलाबेलामा सकारात्मक सोच, शिक्षण सिकाइ र अभिभावकको भूमिकाका विषयमा हरेक वर्र्ष प्यारेन्टिङ प्रोग्राम आयोजना गरिरहेको छ । अभिभावक लक्षित कार्यक्रम गर्ने सम्भवतः जिल्लाकै पहिलो विद्यालय भएको प्राचार्य रावल दाबी गर्छन् । प्राचार्य रावलले भविष्यको सपना सुनाए, ‘हाम्रो विद्यालयलाई मल्टिपल इन्टिलिजेन्ट क्लब बनाउने छ । जुन विद्यार्थीको जे क्षमता छ । त्यही विषयको कक्षा हुनेछ । यो भविष्यमा लागू गर्छौ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय अधिकारी रामसुरेश यादवले उद्घाटन गरेका थिए । सो कार्यक्रममा प्याव्सन बाँकेका अध्यक्ष यम रावत र प्याव्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यको उपस्थिति रहेको थियो ।