शनिबार, कार्तिक १५, २०७७ / Saturday 31st October 2020

जसले कृषिमा क्रान्ति ल्याए

जन्मजात पुस्तौंपुस्तादेखि कृषि मजदुर परिवारका पहारी चौधरीले कृषिको ९५ प्रतिशत काम अत्याधुनिक औजार प्रयोग गरेर एक दशकमै कृषि क्रान्ति गरेका छन्
किसान पहारी चौधरी । फोटो : मेरो खुसी

राजापुर (बर्दिया) : पश्चिम नेपालको पूरानो बजार राजापुरबाट पूर्वमा दुई किलोमिटरको दूरीमा भीम्मापुर गाउँ आउँछ । अन्नको भण्डार मानिने बर्दिया जिल्लाको भौरा टप्पा (राजापुर क्षेत्र)को साबिक भीम्मापुर गाविस-१ (हाल राजापुर नगरपालिका-४) को यो ठाउँमा संघीय, प्रदेश र स्थानीय तहका मन्त्रीदेखि जनप्रतिनिधि कृषि अवलोकन गर्न र गराउन आउँछन् ।

संघीय सरकारका तत्कालीन कृषिमन्त्री चक्रपाणि खनाल र प्रदेश ५ का उपसभामुख कृष्णी चौधरी पहारी चौधरीको कृषि औजारको अवलोकन गर्दै । फोटो सौजन्य : बोमलाल गिरी
किसान पहारी चौधरीको कृषि औजारहरु । फोटो : मेरो खुसी
चैते धान गोड्दै किसान पहारी चौधरी । फोटो : मेरो खुसी

प्रदेश सरकारले स्मार्ट कृषि गाउँका नाममा एक वर्षदेखि तीन बालीका लागि सघाउन थालेको छ । तर, यहाँ त एक दशकअघि नै त्यस्तो अभ्यास भइरहेको छ । प्रदेश ५ मात्र होइन, सम्भवतः पश्चिम नेपालमै एक जना किसानले आफ्नै बलबुता र लगानीबाट कृषिमा आधुनिकीकरण गरेका छन् । कृषिको सबै काम अत्याधुनिक औजारबाटै गर्छन् । कृषि क्षेत्रको आधुनिकतामा लागेका किसान हुन्, पहारी चौधरी ।
कैलालीको सुवर्णपुर, डाँडाबोझी, बर्दियाको सोनपुरहुँदै उनका बाजे फागु चौधरी भीम्मापुर पुगेका थिए । बुवा सिंहालु पनि कमैया नै भए । उनको परिवार जन्मजात नै कमैंया थियो । ४३ वर्ष अघि भीम्मापुरमा पहारी जन्मे । गाउँमा जमिन्दारी प्रथा थियो । कमैंयाका सन्तानले जमिन्दारको घरमा सित्तैमा काम गर्नुपथ्र्यो । उनले पनि गरे । सानोमा बाख्रा, गाईगोरु र राँगाभैंसी चराए । ‘हलो पनि जोत्थे’, उनी विगत सम्झन्छन् । उनका बाबाले आधा पेट खाएर पनि छोरालाई अंग्रेजी विषयमा बीएडसम्म पढाए । उनले पढाउन थाले । शिक्षण पेशा छोडेर उनले कृषिमै भविष्य देखे । बाउबाजेले अरुको घरमा मजदुरको रुपमा गरिरहेको परम्परागत कृषिलाई बदले । कृषि क्रान्ति गर्न नयाँ–नयाँ यन्त्र भित्र्याएर अगुवा किसान बनेर नमूना काम गरेका छन् ।
उनका बुवाका चार भाइ र तिनका ७ भाइ छोर र तिनका सन्तानसहित २५ जनाको तीन पुस्तासँगै बस्छन् । समाजबाट संयुक्त परिवारको अवधारणा हराउँदै गइरहेको बेला उनको परिवार भने मिलेर कृषि कर्म गरिरहेको छ । कमैंया बस्दा बाबा र काकाले सम्हालेको जमिन्दारको जग्गा किनेका छन् । ‘हिजो हाम्रो अन्नदाता जमिन्दार हुन्थे । आज हामी उहाँहरुको अन्नदाता भएका छौं’, उनले यर्थाथता दर्शाए ।
एक दशकअघिसम्म कमैंया लाग्न छोडेर उनको परिवार अर्काको जग्गा अधियामा जोत्थ्यो । ०६४ सालमा एक लाख रुपैयाँमा एक बिगाह जग्गा ऋणमा किने । कृषि कर्मबाटै पहारीले ७ विगाह जग्गा जोडे । अहिले उनको एक विगाह ८ कठ्ठामा त घर नै छ । १० कठ्ठा जतिको त आँगनै छ ।

लकडाउनकै बेला वैशाखको पहिलो साता मेरो खुसी टिम पहारीको घर पुग्दा आँगन कुनै कृषि सामग्री बेच्ने कारखानाको गोदाम देखिन्थ्यो । उनी चैते धान गोड्दै थिए ।

पहारी चौधरीको खेतमा मेसिनबाट धान रोपिँदै । फोटो : पहरी चौधरीको फेसबुकबाट
कम्बाइन हार्भेस्टिङ मेसिन
ट्रेमा उमारिएको धानको बिउ

‘मसँग कृषि क्षेत्रमा प्रयोग हुने झन्डै सबै मेसिन छन् । कृषिको काम ९५ प्रतिशत यन्त्रले गर्छु’, उनले गर्वसाथ सुनाए, ‘बिउ रोप्ने मेसिन छैन । बिउ छर्नेेदेखि काट्ने, दाउँने सबै काम मेसिनबाट गर्छु ।’ उनीसँग झन्डै डेढ दर्जन कृषि औजार छन् (फोटोमा हेर्नुस् सूची) ।
आली फरुवा (कोदालो) चलाउनु पर्दैन । ‘मड बाइन्डर’ले लगाउँछ । कम्प्यूटर प्रविधिबाट जमिन सम्याउने लेजर ल्याण्ड लेब्लर पछि छ । धानको बिउ ट्रेमा बिउ उमार्छन् । मेसिनले रोप्छ । रिपरले नै काट्छ । थ्रेसर दाउँछ । उनले कृषि प्रविधि आफैले पनि विकास गरेका छन् । ट्याक्टरबाट जमिन सम्याउने तीन सय किलो फलामे हेंगा र धान ओसार्ने पंखा आफैले डिजाइन गरेर प्रयोग गरिरहेका छन् । नेपालमा एक जना किसानले सम्भवतः यति धेरै अत्याधुनिक कृषि मेसिन प्रयोग गर्नेमा उनी अग्रपंक्तिमा आउँछन् । भन्छन्, ‘सवा एक करोडका कृषि औजार छन् । अझै धानको बीउ राख्ने चार पाँग्रे ‘राइस प्लान्टर’ ल्याउने योजना छ ।’
खेतीकिसानीमा अत्याधुनिक मेसिन प्रयोग गर्न थालेको एक दशकमै उनले कृषिमा चमत्कार गरिरहेका छन् । हरेक वर्ष खेती गर्ने क्षेत्रफल बढाइरहेका छन् । आम्दानी पनि बढेको छ । राजापुर क्षेत्रमा सामान्य किसानले औसत एक विगाहमा जग्गामा ३० देखि ३५ क्वीन्टल धान फलाउँछ । उनी त्यो भन्दा १० क्वीन्टल बढी अर्थात एक विगाहमा ४० देखि ४५ क्वीन्टल धान फलाउँछन् । सामान्य किसानले १२ देखि १५ क्वीन्टल प्रति बिगाह फलाउने गहुँ उनको औसत २० क्वीन्टल फल्छ । परम्परागत कृषिबाट खर्च बढी हुने र उत्पादन कम हुने भएकाले उनले कृषिमा यान्त्रिकरणमा लागेको बताए । ‘एक विगाहा जग्गामा राँगा र गोरु प्रयोगबाट खेती गर्नु भन्दा मेसिनकोे प्रयोगबाट कम्तीमा पनि नौ दश हजार रुपैयाँ फाइदा हुन्छ’, उनले अनुभव सुनाए ।
यो वर्ष २५ विगाह क्षेत्रफलमा खेती गरेका उनले आउँदै गरेको वर्षायामदेखि यसलाई दोब्बर बनाएर ५० विगाह बनाउने लक्ष्य छ । आगामी तीन वर्षमा यो लक्ष्य दोब्बर अर्थात एक सय विगाहमा खेती गर्ने योजना छ । औसत वर्षमा पाँच सय सात सय क्वीन्टल धान (वर्षे र चैते) र डेढ दुई सय क्वीन्टल गहुँ बिक्री गर्छन्् । ‘सरकारले चैते धान लगाउन भन्छ तर कृषि सामग्री संंस्थानले किन्दैन’, उनले गुनासो गरे । तर पनि उनी राजापुरमा चैते धानको प्रवद्र्धनमा लागेका छन् ।
कृषिमा धेरै अनुदान दिएर किसानलाई प्रोत्साहन गर्न खोजिएको छ । त्यो अनुदानबाट वास्तविक किसानभन्दा फर्म दर्ता गर्नेले मात्र फाइदा लिएको उनको ठम्याँइ छ । उनको जोड छ, ‘अनुदान होइन, सहुलियत दरको ऋण दिनुपर्छ । अहिलेको कृषि ऋण त सामान्य किसानले पाएकै छैनन् । ऋणलाई सरल र सहज बनाएर किसानको पहुँचमा पुग्ने हुनुपर्छ ।’
विश्वमा कोेरोना भाइरस (कोभिड १९) को महामारी छ । कोरोनाको प्रभावले कृषि पेसालाई बढावा दिने उनले आशा गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरु घर फर्कने परिस्थिति बनेको छ । देशमा अरु उद्योगधन्दा र कलकारखाना पर्याप्त छैनन् । विदेशबाट फर्केका युवाहरु पनि कृषि पेशामै लाग्नेमा उनी कृषिबाटै देशको समृद्धि देख्छन् । ‘हाम्रो कृषि निर्वाहमुखी भयो’, उनको सुझाव छ, ‘कृषिमा आधुनिकीकरण र यन्त्रिकरणमा गरेर आयआर्जन हुने गरी कृषि कर्म गर्नुपर्छ ।’

पहारीको खेतको धान
पहारी चौधरीको कृषि औजारहरु
धान रोप्ने मेसिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *