बाँकेमा हरेक २ दिनमा एक जना लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज : बाँकेमा हरेक दुई दिनको अन्तरमा एक जना लागूऔषधका कारोबारी पक्राउ परिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ महिनाको अवधिमा ८८ जना लागूऔषधका कारोबारी पक्राउ परेका छन् । जुन हरेक महिना झन्डै १५ जना पक्राउ परेको देखिन्छ । यसबाट हरेक २ दिनको अन्तरमा एक जना लागूऔषध कारोबारी पक्राउ परेको हुन आउँछ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयले भारतमासमेत लागूऔषधको कारोबारीलाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेकाले नेपालमा लागूऔषध ओसारपसारमा कमी आएको दाबी गर्छन् । जिप्रका बाँकेका अनुसार प्रहरीले ६ महिनाको अवधिमा २६५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेस, ३ हजार ५४३ ट्याव्लेट नाइट्राजेपाम, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा र एक हजार ४३० ट्याव्लेट ट्रमाडोल बरामद गरेको जनाएको छ । प्रहरीले लागूऔषध कारोबारीबाट ५ लाख ११ हजार नगद पनि बरामद गरेको थियो । प्रहरीले बरामद गरेको ब्राउबसुगरसहितका लागूऔषध मंगलबार जिप्रका परिसरमा जलाएर नष्ट गरेको थियो ।